Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

चिनियाँ नेता सियाओ जी काठमाडौंमा

चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका लागि बिहीबार राति काठमाडौँ आइपुगेका छन् । उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।

उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही, नेपाल–चीन संसदीय मैत्री समूहका संयोजक नारायणकाजी श्रेष्ठ, नेपालका लागि चीनका राजदूत छङ सोङ, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय लगायतले स्वागत गरेका थिए । सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म यहाँ हुँदैछ।

उपसभामुख इन्दिरा रानाको औपचारिक निमन्त्रणामा नेपाल आएका सियाओले काठमाडौं बसाइँको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख इन्दिरा रानामगर लगायतसँग भेट गर्नेछन् । सियाओको सम्मानमा उपसभामुख रानाले आज साँझ रात्रिभोज पनि आयोजना गर्ने छिन् ।

उपाध्यक्ष सियाओ नेतृत्वको संसदीय प्रतिनिधि मण्डलले सगरमाथा संवादमा सहभागी हुनुका साथै काठमाडौंका बौद्धनाथ, स्वयम्भूनाथ, बसन्तपुर दरबार क्षेत्र तथा भक्तपुर दरबार क्षेक्र अवलोकन गर्ने कार्यक्रम समेत रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए। चिनियाँ प्रतिनिधि मण्डल काठमाडौंबाट जेठ ३ गते दिउँसो स्वदेश प्रस्थान गर्नेछ ।