Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

सानिमा रिलायन्स लाइफद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

सानिमा रिलायन्स लाइफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ । कम्पनीले सञ्चालक समितिका सदस्य, आधारभूत शेयरधनीहरू तथा विभागीय प्रमुखहरूलाई प्रशिक्षण प्रदान गरेको हो ।

काठमाडौंको याक एण्ड यती होटेलमा आयोजित सो कार्यक्रम बीमा प्राधिकरणका निर्देशक शाम्ब राज लामिछाने तथा उप निर्देशक सविता थापाले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

प्रशिक्षणमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन, नियमावली र निर्देशन बमोजिमको कार्य प्रभावकारीरुपमा गर्न गराउन, आबश्यक नीति, कार्यविधि, नियन्त्रण प्रणाली, जनशक्ति, साधन श्रोत समेतको समुचित व्यवस्था मिलाउने लगायत सञ्चालक समितिको काम कर्तव्य र अधिकार आदिको विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमको समापन समारोहमा बोल्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले सम्पत्ति शुद्धिकरण सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरू र त्यसबाट स्थापित अवधारणाहरूको आधारमा तर्जुमा गरिएको सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन तथा नियमावलीमा व्यवस्था भएको दायित्व पुरा गर्ने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको महत्वमा प्रकाश पार्दै कम्पनीका सबै कर्मचारी र तहमा यसलाई अक्षरस पालना गरिने प्रतिबद्धता जनाए ।

साथै यस निर्देशिकाको अनुपालनमा आफुहरूले कुनै कसर बाँकी नराख्ने बताए । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ जारी भएको अवसर पारेर नेपाल सरकारले गत वर्षदेखि प्रत्येक माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाउने निर्णय गरेको छ ।