पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज (मंगलबार) पनि सुनुवाइ नहुने भएको छ ।
आज न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिए पनि न्यायाधीश फुयालले हेर्न नमिल्ने भएकाले सुनुवाइ हुन नसकेको हो । यसअघि सोमबार न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन ।
न्यायाधीश पोखरेलले पनि हेर्न नमिल्ने भएकाले त्यसदिन सुनुवाइ हुन सकेको थिएन । वैशाख ८ गते पनि यो निवेदनमा सुनुवाइ भएको थिएन । त्यसदिन पनि न्यायाधीश फुयालकै इजलासमा पेशी तोकिएको थियो । तर त्यसको भोलिपल्ट वैशाख ९ मा न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो । त्यसपछि यो निवेदनको अन्तिम किनारा लाग्न सकेको छैन ।
अब बुधबारका लागि पेशी तोकिएको छ । सुप्रिम सहकारीको रकम ठगीको मुद्दामा लामिछाने रुपन्देही कारागारमा छन् । उनलाई जिल्ला अदालतले एक करोड धरौटीमा हिरा गर्न आदेश दिएको थियो । तर उक्त आदेश बदर गर्दै उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । आदेश लगतै लामिछानेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई निवासबाटै पक्राउ गरेर हिरासतमा राखेको थियो ।
त्यसको भोलिपल्ट रुपन्देही लगेर उनलाई कारागार चलान गरिएको थियो । रवि पक्राउ र कारागार चलानको विषयमा प्रश्न उठाउँदै उनकी पत्नी निकिता पौडेलले बन्दी प्रत्यक्षीकरण निवेदन दायर गरेकी हुन् । रविलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहा गर्न माग गरिएको छ ।