Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल, वार्षिक १८ लाखभन्दा बढी बचत

तीन वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किएका बराहक्षेत्र नगरपालिका-९ का अजित भुजेल अहिले बारीमा च्याउखेती गरेर वार्षिक १८ लाखभन्दा बढी बचत गरिरहेका छन्। दुबईको त्यो तातो घाम पसिना र परदेशको पीडाले थिचिएका उनी अहिले च्याउको टनेलभित्र हरियाली सपना देखिरहेका छन्।

अजित दुबईमा काम गर्दा महिनाको ३५-४० हजार कमाउँथे तर त्यो पैसाले खासै जीवन चलाउन सजिलो भने थिएन। आफूलाई खाना खर्च अनि घरखर्च पठाउँदै सकिन्थ्यो । बचत त के गर्नु र कहिलेकाहीँ त ऋणै लाग्थ्यो । ‘गाउँ आएपछि हातमा धेरै पैसा थिएन, तर मनभित्र एउटा आँट र अनुभव भने थियो । अब विदेश होइन, आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले च्याउखेती शुरु गरेँ’, उनले भने।

‘शुरुका दिनमा दुःख र चुनौती भए पनि अहिले व्यवसायले फन्को मार्‍यो। २०७० मा दुई लाख २७ हजारको लगानीमा शुरु गरेका उनले अहिले १२ टनेलमा च्याउखेती गर्दै आएका छन्। ती टनेलबाट ‘अफ सिजन’मा दिनहुँ करिब ३०० केजीभन्दा बढी च्याउ उत्पादन हुने गरेको छ। सिजनमा ६०० केजीसम्म उत्पादन हुने गरेको उनले बताए।

पुसदेखि फागुनसम्म च्याउ राम्रो उत्पादन हुने सिजन हो। ‘त्यो समय राम्रो उत्पादन भए पनि बजारमा मूल्य भने कम हुन्छ, जुन समय प्रतिकेजी ६० देखि ८० रुपैयाँमा बिक्री गर्नुपर्छ । अहिले भने मैले प्रतिकेजी १६० देखि १७० सम्ममा बिक्री गरिरहेको छु । अहिले यही च्याउखेतीले दिएको राम्रो आम्दानीबाट घरखर्च धनेर वर्षमा १८ लाख बढी मज्जाले बचत हुने गरेको छ’, उनले भने।

अहिले वर्षमा र २२ देखि २४ लाखसम्मको च्याउ बिक्री हुन्छ। सबै खर्च कटाएर  १८ लाख बचत गर्ने गरेको उनले सुनाए। अहिले उत्पादन गरेको च्याउ बिक्रीका लागि बजारको समस्या छैन। शुरुमा बजार अभाव भए पनि अब त्यो समस्या छैन । व्यापारी आफैँ फार्ममा च्याउ खोज्दै आउँछन् भने केही व्यापारीले फोन गरेर मगाउँछन्।