Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रविलाई भेट्न कारागारमै पुगे मिटरब्याज पीडित, न्याय पाउने आश्वासन दिलाए

‘न्याय पाउनुअघि दुःख हुन्छ, तपाईहरुको दुःख न्याय पाउनु अघिको हो’

मिटरब्याज पीडितहरूले पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग कारागारमै भेटेका छन् ।

पीडितहरू लामिछाने भेट्न सोमबार (आज) रुपन्देही जिल्ला कारागार पुगेका थिए । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका संयोजक अवदेश कुशवाहाको नेतृत्वमा गएका पीडितहरूलाई लामिछानेले धैर्य गर्न सुझाव दिएका छन् ।

उनीहरूले लामिछानेलाई सरकारले आफूहरूलाई नै चिन्न छाडेको गुनासो गरेका थिए । जवाफमा लामिछानेले ‘धैर्य गर्नुस्, न्याय मिल्छ’ भनेर आश्वासन दिएका छन्। ‘जित न्यायको हुन्छ, तर धैर्य गर्नु, जनताको कुरा सरकारले नसुनेर कहाँ हुन्छ ? सुन्नु पर्छ, सुन्छ । यो नभए अर्कोले सुन्छ। त्यतिञ्जेल तपाईहरुबीच फाटो आउन भएन । एक भएर लड्नु पर्छ। मलाई हेर्नुस् त मेरो स्वार्थ के छ ? जनताकै लागि लड्दा यो दुःख पाएको छु। न्याय पाउनुअघि दुःख हुने रहेछ । यसपछि न्याय हुन्छ । तपाईहरुले पाएको दुःख न्याय पाउनु अघिको हो । नआत्तिनु ।’

न्याय पाउनुअघि दुःख हुने बताउँदै उनले मिटरव्याज पीडितले पनि न्याय पाउने आश्वासन दिलाए। आफ्नै दृष्टान्त दिँदै लामिछानेले धनी र गरीबबीचको लडाई लामो चल्ने बताएका थिए। देशकै लागि लड्नेहरू थुनिनुपरेको उनले बताएका थिए । उनले आफू जनताकै लागि लड्दा दुःख पाएको बताएका थिए ।