Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

गौतम बुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्नेः उपराष्ट्रपति

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विश्वमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको सन्दर्भमा भगवान गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

भगवान् गौतम बुद्धको जन्म जयन्तीको अवसरमा आज शुभकामना व्यक्त गर्दै भगवान गौतम बुद्धले विश्वलाई दिएको अकाट्य सन्देशले सामाजिक र राजनीतिक क्षेत्रमा देखिने विसङ्गति र विकृतिको अन्त्य गर्ने मूलमन्त्र भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘यसलाई सबैले अङ्गिकार गर्दै दृढ संकल्पका साथ अघि बढ्न सक्नु पर्दछ, बौद्ध धर्मावलम्बीले बौद्ध विहार र गुम्बाहरुमा भेला भई सामूहिक उपासना गरी यो जयन्ती मनाउनुले ‘सामूहिकतामा एकता, हाम्रो विशेषता’लाई जीवन्त राख्न सघाउँदछ।’

बुद्ध जयन्ती मानव जीवनमा शान्ति, अहिंसा, प्रेम र आत्मजागरणको महत्त्व दर्शाउने अवसर भएको उनको भनाइ छ। उनले भनेका छन्, ‘वर्तमान विश्वमा द्वन्द्व, तनाव, हिंसा र असमानता व्याप्त रहेको अवस्थामा बुद्धका उपदेशहरुबाट मैत्री, करुणा, शान्ति, अहिंसाको मार्गमा हिड्न सहयोग पुग्न सक्छ, गौतमबुद्धको मध्यम मार्ग र अष्टाङ्गिक मार्गको सिद्धान्तले सबैलाई सत्य, नैतिकता र सन्तुलित जीवनको बाटो देखाउँदछ।’

यो जयन्ती मनाउनुको उद्देश्य आत्मनिरीक्षण गर्न, अज्ञानताको अन्धकार हटाउन र समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्नु पनि भएको उपराष्ट्रपति यादवको भनाइ छ। उपराष्ट्रपति यादवले आजकै दिन स्वाँया पुन्ही, उभौली पर्व, चण्डी पूर्णिमा र गोरखनाथ जयन्ती मनाउने सम्पूर्ण नेपालीलाई पनि शुभकामना व्यक्त गरेका छन् ।