Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

शंकर पोखरेलको प्रश्नः प्रचण्डजी तपाईं के बोल्दै हुनुहुन्छ?

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर नेकपा एमालेका महासचिव शंकर पोखरेलले कडा टिप्पणी गरेका छन् ।

अध्यक्ष प्रचण्डले पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै सरकार डरले रुझेको बिरालो भएको छ भन्दै अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर महासचिव पोखरेलले सरकारको स्थायित्वको आधार तयार भएको देखेर प्रचण्डमा पीडा र छटपटी बढेको टिप्पणी गरेका हुन् ।


पोखरेलले विदेशी मुद्राको सञ्चिति बढेको र सोधनान्तर स्थितिमा उल्लेख्य बचत रहेको, बैङ्कको तरलता वृद्धि भएको, ब्याजदर घटेको छ र लगानी वृद्धि हुन थालेको बताएका छन्। त्यस्तै निर्माण ठप्प रहेका ठुला आयोजनाहरूको काममा तीव्रता आएको उनले बताए ।

पोखरा–मुग्लिन सडक, गैडाकोट(बुटवल सडक आदि बनेको भूकम्प र बाढी पीडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको दाबी गर्दै यसले दाहाललाई छटपटी बढेको महासचिव पोखरेलले बताए । ‘भूमि समस्याको समाधानको प्रक्रिया अघि बढेको छ । सरकारको स्थायित्वको आधार तयार भएको छ । उपरोक्त कारणले नै तपाईको पीडा र छटपटी बढेको देखिन्छ । होइन र ?’ भन्दै उनले प्रश्न गरे ।

पोखरेलको नजरमा ओली सरकारका उपलब्धि

राजश्वमा उल्लेख्य वृद्धि भएको छ ।

विदेशी मुद्राको सञ्चिति बढेको छ ।

सोधनान्तर स्थितिमा उल्लेख्य बचत छ ।

निर्माण व्यावसायीलाई काम बापतको भुक्तानी प्रदान गरिएको छ ।

निर्माण ठप्प रहेका ठुला आयोजनाहरूको काममा तीव्रता आएको छ । जस्तो पोखरा–मुग्लिङ सडक, गैँडाकोट–बुटवल सडक आदि ।

भूकम्प र बाढी पीडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ ।

बैङ्कको तरलता वृद्धि भएको छ । ब्याजदर घटेको छ । लगानी वृद्धि हुन थालेको छ ।

कानून निर्माणको कामले तीव्रता पाएको छ ।

कानूनी सुधारको प्रक्रियाबाट लगानी योग्य वातावरण तयार भएको छ ।

कानुन कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ ।

भूमि समस्याको समाधानको प्रक्रिया अघि बढेको छ ।

सरकारको स्थायित्वको आधार तयार भएको छ ।