Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

पाकिस्तानले उच्च गतिका मिसाइल प्रयोग गर्दै आक्रमण गर्‍यो तर सैनिक पूर्वाधारमा क्षति भएको छैन् - भारत

पाकिस्तानले उच्च–गतिका मिसाइलहरू प्रयोग गरेर आफ्ना आधारहरू लक्षित गरेको भारतले बताएको छ । भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलन गर्दै पाकिस्तानले भारतीय वायुसेना वेसहरू लक्षित गरेर उच्च–गतिका मिसाइलहरू प्रयोग गरेको आरोप लगाइन् ।

यसअघि पाकिस्तानले भारतले आफ्ना तीनवटा सैनिक वायुसेना आधारहरूलाई मिसाइल हमलाले लक्षित गरेको आरोप लगाएको थियो । पत्रकार सम्मेलनमा पाकिस्तानले उक्साउने र तनाव बढाउने प्रवृत्ति अबलम्बन गरेको भन्दै भारतका विदेश सचिव भने, “मैले पहिले पनि धेरैपटक भनेको छु, पाकिस्तानका गतिविधिहरूले उक्साउने र तनाव बढाउने काम गरेको छ ।” 

पाकिस्तानी हमलाको प्रतिकारमा भारतले जिम्मेवार र संयमित ढंगले आफ्नो रक्षा गरेको उनको भनाइ छ । “आज बिहानै हामीले यो बढाउने र उक्साउने प्रवृत्तिको पुनरावृत्ति देख्यौँ ।”  भारतीय वायुसेनाकी विंग कमान्डर व्योमिका सिंहले पाकिस्तानले भारतको पश्चिमी सीमामा धेरै खतराका साधनहरू प्रयोग गरेर आक्रामक कार्यहरू गरेको बताइन् ।

उनले पाकिस्तानले ड्रोन, लामो दूरीका हतियारलगायत विविध हतियार प्रयोग गरेर नागरिकको बसोबास रहेका क्षेत्रहरू र सैनिक पूर्वाधारहरू लक्षित गरेको जानकारी दिइन् । “पाकिस्तानी सेनाले नियन्त्रण रेखाको छेउछाउ वायुसेना वेसहरूलाई ड्रोन र भारी क्यालिबरका हतियारहरूको प्रयोग गर्दै निशाना बनाएको छ,” उनले भनिन् ।

सैनिक पूर्वाधारमा कुनै क्षति नभएको भारतको दाबी

भारतीय वायुसेनाकी विंग कमान्डर व्योमिका सिंह र विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानी मिसाइल आक्रमणले भारतको सैनिक पूर्वाधारमा कुनै पनि क्षति नपुगेको बताएका छन् । बीबीसीका अनुसार यसअघि पाकिस्तानले भारतको पञ्जाबमा रहेको सैन्य सुविधाहरूमा प्रहार गरेको र भारतको पंजाबको रहेको ब्रह्मोस मिसाइल भण्डारण केन्द्र नष्ट गरेको दाबी गरेको थियो ।

“पाकिस्तानले अडामपुरमा भारतीय एस–४०० प्रणाली ध्वस्त, सुरत र सिरसामा वायुक्षेत्रहरूको नष्ट, नगरोटामा ब्रह्मोस स्पेस, डेरांग्यारीमा तोपखाना र चण्डीगढको गोलाबारुद गोदामलगायत अन्य सैनिक क्षेत्रहरूलाई ठूलो क्षति पुगेको दाबी गरेको छ,” रक्षा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा भारतीय वायुसेनाकी विंग कमान्डर व्योमिका सिंहले भनिन्, “पाकिस्तानले सामाजिक संजालमा निरन्तर गलत सूचना प्रवाह गर्ने अभियान चलाएको छ । भारतले पाकिस्तानले प्रवाह गरिरहेका असत्य दाबीहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्दछौँ ।”