Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मुस्कान चौधरी विदेशबाट फर्केपछि व्यावसायिक खेतीमा संलग्न भएका छन्। ६ वर्षदेखि चौधरीले तरकारी खेती गर्दै आएका छन्। चार वर्ष मलेसियामा काम गरेर फर्केका चौधरीले वर्षमा तरकारी खेतीबाट सात लाख बढी आम्दानी गर्दै आएका छन्। वैदेशिक रोजगारीबाट फर्केर चौधरीले चार कठ्ठा जग्गा खरिद गरेका थिए ।

सोही जग्गामा उनले बाह्रै महिना तरकारी खेती गर्दै आएका छन्। ‘थोरै जग्गा थियो’, उनले भने, ‘सात जनाको परिवारको खर्च चलाउन चुनौती पूर्ण थियो, स्वामित्वको पाँच कठ्ठा जग्गा मात्रै रहेकामा घर फर्केर चार कठ्ठा जग्गा थपे ।’ घरका लागि मात्रै थोरै मात्रै तरकारी खेती गरिँदै आएको थियो । तरकारी खेती गर्ने तौरतरिका भए पनि आर्थिक अभाव थियो । वैदेशिक रोजगारीबाट कमाएको केही रकम लगानी गरी व्यावसायिक तरकारी खेतीमा संलग्न हुने चौधरीले निर्णय गरेका थिए ।

तरकारी खेतीमा परिवारका सदस्यले साथ दिने बचन दिएपछि त्यसमै होमिएको उनी बताउँछन् । पहिलो वर्ष नै तरकारी खेतीबाट सोचेभन्दा बढी आम्दानी भएपछि उत्साहित हुँदै तरकारी खेतीलाई निरन्तरता दिँदै आएको उनले बताए । गत हिउँदमा मात्रै चौधरीले काउलीबाट मात्रै रु ८० हजार र लहरेबालीबाट रु ६० हजार आम्दानी गरेका छन् । वैशाखदेखि असारसम्म काँक्रा, बोडी, तरबुजा, तितेकरेला, तोरैया, खुर्सानी, वर्षातका बेला लौका, काँक्रा, फर्सि र हिउँदका बेला काउली, गाोलभेडा, खुर्सानीको खेती चौधरीले गर्दै आएका छन् । मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका चौधरीले बेमौसमी तरकारी खेतीबाट बढी आम्दानी लिने गरेका छन् ।

परिवारका सात जनाको पूरै खर्च एवं बालबालिकाको विद्यालय खर्च तरकारी खेतीले धानिँदै आएको चौधरी बताउँछन् । चौधरीले वैदेशिक रोजगारीबाट फर्केर किनेको चार कठ्ठा र पहिलेदेखि नै स्वामित्वमा रहेको छ कठ्ठा जग्गा गरी १० कठ्ठा जग्गा रहेको छ । चार कठ्ठा जग्गामा बाहै्र महिना तरकारी खेती हुने गरेको छ भने छ कठ्ठा जग्गामा गहुँ, धानलगायत खेती हुने गरेको छ । तरकारीका लागि बारी तयारी गर्ने, बीउ रोप्ने, मल राख्ने, गोडमेल गर्ने र तरकारी टिपेर बजारसम्म पुरयाउनका लागि पुरै परिवार खटिने गरेको छ । मोटरसाइकलमा तरकारी राखेर चौधरीले महेन्द्रनगरको सब्जीमण्डी र झलारी बजारमा बिक्री गर्दै आएका छन् ।

‘वैदेशिक रोजगारीमा हुँदा तलब मात्रै पारिश्रमिकका रूपमा पाइन्थ्यो’, उनले भने, ‘व्यावसायिक तरकारी खेतीमा जति मिहिनेत गर्‍यो, त्यति नै प्रतिफल हासिल हुन्छ । टाढाको देशमा एक्लो भइने, अहिले परिवारसँग सुखदुःख बाँड्न पाइएको छ, दुःख बिरामी हेर्ने मान्छे परिवारमा छन्, विदेशमा त्यस्तो केही हुँदैनथ्यो, स्वदेशमै जति कमाइ भए यसमै सन्तुष्ट छु, अब फर्केर विदेश जाने योजना छैन’, उनले भने ।

थोरै जग्गामा धेरै तरकारी फलाउने किसानका रूपमा चौधरीलाई शुक्लाफाँटा नगरपालिकाको कृषि विकास शाखाले उत्कृष्ट कृषकका रूपमा प्रमाणपत्रसहित पुरस्कृत गरी सकेको छ । वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी मुस्कानलाई मिहिनेती र साहसी किसानका रूपमा चिन्ने गर्छन्। ‘थोरै जग्गामा बाह्रै महिना व्यावसायिक रुपमा तरकारी खेती गरेर गतिलो आम्दानी गर्ने किसानमा मुस्कान पर्नुहुन्छ’, उनले भने, ‘उहाँको कार्यलाई अरू किसानले अनुशरण गरेर कार्य गर्न सक्नु पर्छ।’ पिपलाडीलाई नगरपालिका क्षेत्रकै सबैभन्दा बढी व्यावसायिक तरकारी खेती हुने क्षेत्रका रूपमा परिचित रहेको छ। यहाँका ५० बढी किसान व्यावसायिक तरकारी खेतीमा संलग्न रहेका छन् ।