Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नवराज सुवेदीले बुुझे पूर्वराजाको नाममा उठाइएको रकम, कति लाख उठ्यो?

पूर्व राजा ज्ञानेन्द्र शाहका नाममा समर्थकबाट उठाइएको रकम राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन संघर्ष समितिका संयोजक नवराज सुवेदीले बुुझेका छन्।

राजावादी समूहले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन गरेपछि काठमाडौँ महानगरपालिकाले त्यसको भोलिपल्ट पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेको थियो । राजावादीले वातावरण प्रदूषण गरेकोलगायतका शीर्षकमा महानगरले ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णयसहित पत्र काटेको थियो ।

महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेपछि राजावादीले भने पूर्वराजा आयोजक नभएकाले उनलाई पत्र काट्नु न्याससंगत नभएको जिकिर गर्दै आएका छन् । उसो त महानगरपालिकाले लिएर गएको पत्र समेत निर्मल निवासले अस्वीकार गरेको थियो । यसरी तीनकुने घटनामा बालेन शाह नेतृत्वको महानगरले पत्र काटेपछि विदेशमा बस्ने नेपालीहरुले उक्त जरिवाना नागरिकस्तरबाट तिर्ने भनेर पूर्वराजाको नाममा चन्दा संकलन अभियान समेत चलाएका थिए । जसमा पोर्चुगल बस्दै आएका रमेशराज बास्तोलालगायत सक्रिय रुपमा संलग्न थिए ।

सोही अभियानबाट उठाइएको रकम सुवेदीलाई हस्तान्तरण गरिएको हो । उक्त रकम काठमाडौँ महानगरपालिकालाई भुक्तानी गरिसकिएको छैन । हिन्दू राष्ट्र तथा राजसंस्था पुनःस्थापना अन्तर्राष्ट्रिय प्रवासी नेपाली संघर्ष समितिका सदस्य सचिव अंगतप्रसाद देवकोटालगायतले बिहीबार ८ लाख ३९ हजार ४०० रुपैयाँ राजसंस्था पुनस्र्थापनाका लागि जनआन्दोलन संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । 

यद्यपि समितिले उक्त रकमबाट जरिवाना तिर्ने कि नतिर्ने भन्नेबारे कुनै निर्णय गरिसकेको छैन । राप्रपाका प्रवक्ता सगुन लावतीले पूर्वराजा संलग्न नै नभएको आन्दोलनमा जोडेर महानगरले काटेको पत्र सही नभएको जिकिर गरेका छन् । सोही कारण हालसम्म जरिवाना नतिरिएको उनको भनाइ छ । सुवेदीले उक्त रकम आफूले बुझेको अभियानको लेटरहेडमार्फत नै लिखित गरेका छन् ।

subedi.png