Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

झापामा थपिए सात सय ७६ घरेलु तथा साना उद्योग

झापा जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ ४३१ र वाणिज्यतर्फ ३४५ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । सोही अवधिमा उद्योगतर्फ एक हजार १६८ र वाणिज्यतर्फ एक हजार २७३ उद्योग नवीकरण भएका छन् ।

सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा चालु आवको नौ महिनामा उद्योगतर्फ ३९४ र वाणिज्यतर्फ १२८ गरी ५२२ उद्योग खारेज हुँदा २३ उद्योगको ठाउँसारी तथा १३० उद्योगले व्यवसाय विस्तार गरेका, उनले बताए।

झापामा उद्योग बन्द गर्ने भन्दा नयाँ थपिनेको सङ्ख्या बढ्दै गएको उनले बताइन्। घरेलु तथा साना उद्योग कार्यालयले चालु आवको नौ महिनामा दुई करोड २१ लाख ८८ हजार ९५० राजस्व संकलन गरेको छ ।