Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सरकार विद्युत प्राधिकरणको कार्यकारी निर्देशक र गभर्नरको पदमै अड्कियोः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक निशा डाँगीले सरकार जनताका दैनिक समस्या समाधान गर्नेमा ध्यान दिनभन्दा पनि कहिले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक त कहिले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा अड्किएको बताएकी छन्। उनले सरकारलाई यस्ता गतिविधि छोडेर जनताको काममा लाग्न माग गरेकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सचेतक डाँगीले सरकारले आफ्ना प्राथमिकता भुलेर नियुक्तिमा अल्झिएको बताइन् । ‘सरकारले गभर्नर नियुक्तिमा लामो समय खर्च गरेको देखिन्छ।मेरिटोक्रेसीको आधारमा पनि गभर्नर नियुक्ति गर्न सकिन्छ । सरकारको समय यस्ता हावादारी कुरामा खर्च नगर्न पनि सुझाव दिन चाहन्छु,’ उनले भनिन्, ‘राजधानी काठमाडौं जोड्ने प्रमुख सडक असुरक्षित छन् । लाखौं नागरिक दैनिक जोखिम उठाउँदै यात्रा गर्न बाध्य छन् । सरकारले यतातिर समय खर्च गरोस् । १०–११ महिना भइसकेको छ । कहिले कार्यकारी निर्देशक त कहिले गभर्नरको पदमा सरकार अड्किएको छ ।’

जनताले सरकार भागबण्डामा अड्किएको देख्न नचाहेको बताएकी छन् । ‘ग्रो अप सरकार, जनताले काम खोजेका छन्, भागबण्डा गरेर कुन पद कसलाई दिने भन् खोजेका छैनन्,’ उनले सुझाइन् । डाँगीले ऊर्जामन्त्री दीपक खड्कालाई संसदमा आएर नेपाल विद्युत प्राधिकरणको आर्थिक अवस्थामा आएर स्पष्ट जानकारी गराउन पनि माग गरिन् । ‘केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफामा रहेको विद्युत प्राधिकरण एक महिनाभित्र ५ अर्ब २६ करोड घाटामा छ भनेको सुनियो । यस विषयमा सदनमा आएर ऊर्जामन्त्रीले स्पष्टिकरण दिन माग गर्दछु,’ उनले भनिन् ।