Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सरकारले षड्यन्त्र गरेर जनमत र नागरिक उन्मुक्तिको एकता भाँड्योः सांसद सिंह

प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले षड्यन्त्र गरेर जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता भाँडेको आरोप लगाएका छन् ।

आज (सोमबार) प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले सरकार मेनस्ट्रिममा नरहेकाहरुको एकतामा बाधक बनेको र षड्यन्त्रपूर्ण ढंगले रेशम चौधरीलाई पक्राउ गरिएको बताए ।

‘प्रधानमन्त्री, गृहमन्त्रीको सहमति भएरै पूर्व सांसदलाई पक्राउ गरिन्छ । वडाध्यक्षलाई गिरफ्तार गर्न त प्रधानमन्त्री गृहमन्त्रीलाई सोधिन्छ भने पूर्व सांसद र पार्टीको संरक्षकलाई पक्राउ गर्न..,’ उनले भने । उनले रेशम चौधरीलाई पक्राउन पत्र लेख्ने कर्मचारीको आबद्धता कुन दलमा छ भन्ने खोजी हुनुपर्ने बताएका छन्। चैत १७ गते नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकताका लागि प्रज्ञा भवनमा कार्यक्रम राखिएको थियो ।

सर्वोच्चबाट अनधिकृत रुपमा पत्र गएपछि प्रहरीले नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीलाई प्रज्ञा भवनबाटै पक्राउ गरी डिल्लीबजार कारागार चलान गरेको थियो। पत्र अनधिकृत रहेको खुलेपछि चौधरी सोही दिन रिहा भए पनि पार्टी एकता कार्यक्रम स्थगित भएको थियो । अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा छन् । उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।