Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ज्ञानेन्द्र शाहीको प्रश्नः बेलुन पड्किँदा न्यायिक छानबिन समिति बनाउने सरकार सविन महर्जनको मृत्युमा किन मौन? (भिडियोसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले तीनकुने घटनामा सरकारले मानव अधिकारको उल्लङ्घन गरेको पुष्टि भएको भन्दै न्यायिक छानबिन समिति गठनको माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहीले ४० दिनदेखि रविन्द्र मिश्रसहितका व्यक्तिहरू थुनामा रहेको उल्लेख गर्दै राज्यले अत्यधिक दमन गरिरहेको आरोप लगाए । उनले पोखरामा बेलुन पड्किँदा न्यायिक छानबिन समिति बनाउने सरकारले सविन महर्जनको गोली हानेर मारिँदा समेत मौन बसेको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘सरकारले राज्य आतंक अत्याधिक ज्यादा गरेको छ । ४० दिनदेखि रविन्द्र मिश्र लगायतका साथीहरु आजपनि थुनामा छन् । तीनकुनेमा भएको घटनामा विभिन्न मानव अधिकारसम्बन्धी संघ संगठनहरुले राज्यले मानव अधिकारको गम्भिर र ठाडो उल्लङ्घन गरेको भनेर पुष्टि समेत गरिसकेको छ । तर राज्य थुनिराखेको छ । राज्यलाई म सोध्न चाहन्छु, पोखरामा बेलुन पड्किँदासम्म तिमीहरु न्यायिक छानविन समिति बनाउनेले दिनदहाडै सविन महर्जनलाई टाउकोमा गोली हानेर हत्या गर्नेलाई किन न्यायिक छानविन समिति बनाउँदैन ? न्यायिक छानविन समिति आवश्यक छ ।’ उनले थुनामा रहेका राप्रपा नेताहरुलाई तत्काल छोड्न समेत सरकारको ध्यानाकर्षण गराए ।