Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पाटन संयुक्त क्याम्पसमा नेविसंघको प्यानल नै विजयी

ललितपुरको पाटन क्याम्पसको स्ववियुमा एक सदस्य बाहेक सबै पदमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार विजयी भएका छन्। गए राति सकिएको मतगणनाको अन्तिम नतिजा अनुसार एक जना सदस्य बाहेक बाँकी सबै पदहरूमा नेविसंघका उम्मेदवार विजयी भएका हुन्।

नेविसंघ नेता सुवास पोखरेलका अनुसार अध्यक्षमा रोहित कपाली ९०६ मत प्राप्त गर्दै विजयी भएका छन् । अध्यक्षमा एमाले निकट अनेरास्ववियुका तिलकबहादुर कुमालले ३६५ मत ल्याए । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका दीपककुमार राना मगरले १५३ मत ल्याएका थिए । त्यस्तै सचिवमा नेविसंघका रूपक न्यौपाने ५४७ मत प्राप्त गर्दै विजयी भए ।

अनेरास्ववियुका नितिन पाण्डेयले ४८६ र अखिल क्रान्तिकारीका टीकाराम खत्रीले ४५६ मत पाए । त्यस्तै कोषाध्यक्षमा पनि नेविसंघकै प्रज्वल तामाङ विजयी भए । उनले ५९२ मत ल्याउँदा अनेरास्ववियुका सुष्मा शाहीले ४४९ र अखिल क्रान्तिकारीका उदय पोख्रेलले ३६२ मत ल्याए । सदस्यमा अनेरास्ववियुबाट माधव पाण्डे विजयी भए। बाँकी सबै सदस्य पनि नेविसंघले जितेको छ ।

नेविसंघबाट राम दाहाल, दिपेन्द्र अगरेजा मगर, प्रल्हाद कटुवाल, विशाखा शाही, जेनिश शाह, रोशन खत्री र रिशब भगत सदस्य निर्वाचित भए । शनिबार सम्पन्न भएको मतदानमा १ हजार ६७७ मत खसेको थियो। यसअघि चैत ५ गते ११९ मत खसेपछि विद्यार्थी संगठनबीच झडप भएपछि मतदान स्थगित भएको थियो । त्यतिबेला खसेको ११९ मत पनि जोडिएको छ ।