Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कैलालीमा घट्यो गहुँ उत्पादन

गत वर्षको तुलनामा कैलालीमा यस वर्ष दुई हजार दुई सय ९८ मेट्रिक टन गहुँ उत्पादन घटेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ३२ हजार आठ सय ४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १० हजार १४ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष त्यति नै क्षेत्रफलमा गहुँखेती गरिएकामा एक लाख १२ हजार ३१२ मेट्रिक टन उत्पादन भएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष गहुँको उत्पादकत्व पनि घटेको छ । गत वर्ष गहुँको उत्पादकत्व तीन दशमलव ४२ मेट्रिक टन प्रतिहेक्टर रहेकामा यस वर्ष तीन दशमलव ३५ मेट्रिक टन प्रतिहेक्टर भएको सूचना अधिकारी दुर्गाप्रसाद ओझाले जानकारी दिए ।

ओझाले भने, ‘उत्पादनमा केही कमी आएको छ । पानी आवश्यक पर्ने बेलामा वर्षा कम भयो, सबै किसानले उन्नत जातको बीउ प्रयोग नगर्दा उत्पादन घटेको हो’, कार्यालयले उत्पादन वृद्धि गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ उपलब्ध गराउँदै आएको छ ।’