Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको माग

सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग गरेका छन् ।  

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद भगवती चौधरीले शिक्षक आन्दोलनको चाँडो समाधान निकाल्नुपर्ने बताए। उनले सार्वजनिकस्थल, व्यापारिक केन्द्रलगायत ठाउँमा आगलागीका घटनाको जोखिम व्यवस्थापन गर्न दमकलको व्यवस्था गर्न आग्रह गरे ।  

सांसद भानुभक्त जोशीले पनि आन्दोलनरत शिक्षकको मागतर्फ सरकारले ध्यान नदिएको आरोप लगाउँदै उनीहरूलाई चाँडो विद्यालय फर्काउन सरकारले पहल गर्नुपर्ने बताए।
    
यस्तै, सांसद मनबहादुर गुरुङले पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा आवश्यक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद मनिष झाले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरे । सांसद महेन्द्रबहादुर शाहीले आन्दोलनरत सबै पक्षका माग समयमै सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए। 

सांसद महेशकुमार बर्तौलाले राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको निजगढ ‘फास्ट ट्रयाक’ समयमै निर्माण गर्नुपर्ने बताए । उक्त सडकखण्ड झण्डै ५३ किलोमिटर मकवानपुरमा पर्ने भएकाले सिस्नेरी दोभानबाट पहुँच विन्दु फास्ट ट्र्याकसँग जोड्न सके ललितपुर, मकवानपुर, धादिङ र चितवनलाई लाभ मिल्ने सुझाव दिए ।