सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ। राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सोमबार राति सहमति हुन नसकेको हो।
सरकारले आन्दोलनरत शिक्षकसँग बुधबारसम्म सहमति जुट्ने बताइरहेका बेला नेपाल शिक्षक महासंघले भने आन्दोलन जारी रहेको बताएको छ । सरकारले वार्ता सहमतिनजिक पुगेको बताइरहँदा महासंघले भने यसबारे प्रष्ट पारेको छैन । वार्ता भए पनि सहमति नभएको महासंघले बताएको छ ।
“आज शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो तर निष्कर्षमा पुग्न सकिएन । हामी भर्खरै मन्त्रालयबाट बाहिर आयौँ,” महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले गएराति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले आन्दोलन जारी रहेको प्रष्ट पारेका छन् ।
यता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षकहरूले उठाएको मागबारे मंगलरकार वा बुधबारसम्ममा सहमति हुने बताएका छन् ।
सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो। वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए। उनले भने, “केही विषय टुङ्गो लगाउन बाँकी छ। वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ।”
शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको उल्लेख गरे। उनले महासङ्घसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने पक्षमा सरकार रहेको जानकारी दिए।
महासङ्घका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए। उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने उल्लेख गरेका छन्।
मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासङ्घसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो। मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म शिक्षक आन्दोलनको माग सम्बोधन हुने बताएका थिए। विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन्।