शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाल नाराबाजी भएपछि फर्किएका छन्।
२७ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरुलाई समर्थन गर्न बिजुलीबजार पुगेर उनीहरु आफ्नो धारणा नराखी फर्किएका हुन् । शिक्षकहरूले राजनीति गर्न पाइँदैन भन्दै उनीहरुविरुद्ध नाराबाजी गरेपछि दुवै जना फर्किएका हुन् ।
आज सोमबार नयाँ बानेश्वरमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू पुगेका थिए।
उनीहरूलाई आन्दोलनरत शिक्षकहरूले आफूहरूको आन्दोलनमा सहभागी नहुन भन्दै उल्टै नाराबाजी गरे। आन्दोलनमा सहभागी शिक्षकहरूले उनीहरूलाई संसदमा बोल्न आग्रह गर्दै ‘यहाँ नआउन’ भन्दै माइकिङ गरे। लगत्तै, उनीहरू प्रदर्शनस्थलबाट बाहिरिएका थिए। बाहिरने क्रममा अध्यक्ष नेपालले भनेका छन्, ‘अरु केही भन्दिनँ, यो आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ।’
साथै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाललेले भने, ‘शिक्षकहरुको झन्डै एक महिना पुगिसकेको आन्दोलनको मागलाई नसुनिकन जसरी तानाशाही दमनचक्रमा उभिन खोजिरहेको छ सरकार, यसको हामी घनघोर भत्सना गर्दछौँ, विरोध गर्दछौँ र शिक्षकहरु भनेको यो देशका बालबालिकाहरुलाई शिक्षित गर्ने गुरुहरु गुरुआमाहरु हो । उहाँहरुको मागलाई पहिलो प्राथमिकताका साथ यो सरकारले पूरा गर्नु पर्छ ।
अन्यथा यो भन्दा ठूलो जनआन्दोलनको प्रतिक्षामा बसोस् सरकार म यो चुनौति दिन चाहन्छु । यो सरकारको अकर्मण्यता जनविरोधी शिक्षा विरोधी चरित्र हो। यसप्रकारको चरित्रको हामी विरोध गर्छौं । र देशको शिक्षा व्यवस्थामा २०२८ सालको ऐनले अहिले पनि चालु भइरहेको छ ।
यसको सट्टा यत्रो परिवर्तन भइसक्दा पनि नयाँ ऐन ल्याउनुपर्ने कुराहरुमा सरकारले अहिले पनि ध्यान दिन नसक्नु त्यसमाथि शिक्षकहरुले योजनावद्ध किसिमले यी मागहरु पूरा गर । कमसेकम पनि शिक्षा ऐन पारित गर, लागू गर भनेर गरेको मागलाई नसुन्नु भनेको अकर्मण्ड्यता दिशाहिनताको अराजकताको पराकाष्ठा हो ।’
नेता खनालले शिक्षाको विकास गर्न कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने बताए । शिक्षामा लगानी गर्न प्रशस्था बजेट भएको बताए । आफू प्रधानमन्त्री हुँदा शिक्षामा कुल बजेटको १६ प्रतिशत लगानी गरेको भन्दै उनले त्यसपछिको कुनैपनि सरकारले त्यति बजेट शिक्षा क्षेत्रका लागि नछुट्याएको दाबी गरे । उनले जनताले तिरेको राजश्वलाई सही ढंगले परिचालन गर्नुपर्ने जोड दिए ।
उनले भने, ‘यो आफैमा अकर्मण्यता हो । यो देशमा शिक्षाको विकास गर्ने हो भने बजेटको २० प्रतिशत हाल्नैपर्छ । म प्रधानमन्त्री हुँदा मैले १६ प्रतिशत हालेको थिएँ तर यो उचाईसम्म अहिलेसम्म कुनै शिक्षा मन्त्री पुग्न सकेको छैन । त्यसकारणले २० प्रतिशत शिक्षामा हाल्नुपर्छ ।
बजेट नहुने भन्ने कुरै छैन, यो सारा संसारमा जनताले दिएको राजश्व छ त्यो राजश्व परिचानल ठिक ढंगले भएको छैन । भ्रष्टाचारको काण्र्डकाण्डको माला लगाउन पुगिरहेको छ सरकारलाई तर किन यसमा बजेट दिन सक्दैन ?’ नेता खनालले शिक्षकहरुको माग पूरा नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई समर्थन गर्ने बताए ।