Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

ब्राजिलका पूर्व राष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचार आरोपमा पक्राउ

ब्राजिलका पूर्व राष्ट्रपति फर्नान्डो कोलर डी मेलोलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा सर्वोच्च अदालतले झण्डै नौ वर्षको जेल सजाय सदर गरेपछि शुक्रबार पक्राउ गरिएको संघीय प्रहरी स्रोतले जानकारी दिएको छ।

ब्राजिलमा प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति कोलोर डे मेलोलाई सन् १९९२ मा काङ्ग्रेसले घूस लिएको आरोपमा महाभियोगको प्रक्रिया सुरु गरिएको थियो जसका कारण उहाँले कार्यकालको आधा समयमा राजीनामा दिन बाध्य हुनुपरेको थियो ।

नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै प्रहरी स्रोतले दिएको जानकारी अनुसार ७५ वर्षीय उनलाई देशको उत्तरपूर्वी क्षेत्रबाट पक्राउ गरिएको हो । अदालतमार्फत् पक्राउ आदेश खारेज गर्ने उनको प्रयासलाई बिहीबार अदालतले अस्वीकार गरेको थियो । अभियोजकहरूले एक निर्माण कम्पनी र ब्राजिलको सरकारी तेल कम्पनी पेट्रोब्रासको पूर्व सहायक कम्पनीबीच ‘अनियमित रूपमा सम्झौता गर्न’ रकम लिएको आरोप लगाएका छन् ।

कोलर डी मेलो ब्राजिलको कानुनको उल्लङ्घन गर्ने पहिलो राष्ट्रपति भने होइनन् । सन् १९६४ देखि १९८५ सम्म देशको नेतृत्व गरेका सातमध्ये चार जना राष्ट्रपतिलाई दोषी ठहराइएको, जेल चलान गरिएको वा महाभियोग लगाइएको थियो । सन् २०२२ को चुनावमा पराजित भएपछि अति दक्षिणपन्थी पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई ‘कू’ को षडयन्त्र गरेको अभियोगमा मुद्दा चलाउन आदेश दिइएको छ ।