Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

शिक्षामन्त्री पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए, के गर्लान् शिक्षक?

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् ।  विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूलाई वार्ताका लागि बोलाएका हुन् । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनप्रति ध्यानाकषर्ण भएको जनाउँदै वार्ताका लागि बोलाएका हुन् । शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ता आउन आह्वान गरेका हुन् ।  

मन्त्रालयका अनुसार शिक्षकहरूको हक–हित प्रवर्द्धन गर्न र समस्याको दीर्घकालीन समाधान खोज्न मन्त्रालय निरन्तर प्रयत्नशील रहेको छ। ’शिक्षक प्रतिनिधिहरूसँगको परामर्श तथा छलफलकै आधारमा विधेयकको मस्यौदा तयार गरिएको हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘त्यसैले विधेयक छिट्टै पारित होस् भन्ने शिक्षक तथा कर्मचारीहरूको चासो स्वभाविक हो।’

विधेयक संसदमा दर्ता, छलफल र पारित हुने प्रक्रिया विधायकी र कानुनी प्रक्रिया अनुरूप अगाडि बढ्ने मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई संवाद र समाधानको लागि छिट्टै वार्तामा बस्न सरकारको तर्फबाट आह्वान गरेको हो । 

education-minister-panta.jpg