Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

पाकिस्तानमा भएकालाई भारत फर्कन आग्रह गर्दै भारतले बन्द गर्‍यो पाकिस्तानी नागरिकलाई भिसा सेवा

भारतले पाकिस्तानी नागरिकका लागि तत्काल कार्यान्वयन हुने गरी भिसा सेवा निलम्बनको घोषणा गरेको छ । बिहीबार यो जानकारी दिँदै भारतीय विदेश मन्त्रालयले भनेको छ, “पहलगाममा भएको आतंकवादी हमलालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो ।”

पाकिस्तानी नागरिकलाई जारी गरेका सबै विद्यमान वैध भिसाहरू अप्रिल २७ देखि रद्द भएको मानिने विदेश मन्त्रालयले जनाएको छ । यस्तै, पाकिस्तानी नागरिकलाई जारी गरिएको मेडिकल भिसा अप्रिल २९ सम्ममात्रै मान्य हुनेछ ।  विदेश मन्त्रालयले आफ्ना नागरिकलाई पाकिस्तान यात्रा नगर्न सल्लाह दिएको छ । हाल पाकिस्तानमा रहेका सबै भारतीय नागरिकलाई पनि सकेसम्म चाँडो भारत फर्कन विदेश मन्त्रालयले आग्रह गरेको छ । 

मंगलबार जम्मु कश्मीरको पहलगाममा आतंककारीले आक्रमण गरी २६ जनाको हत्या गरेका थिए । बुधबार नै नयाँदिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस)को बैठकले धेरै निर्णय गरेको थियो । 

पहलगाम कश्मीरको सबैभन्दा आकर्षक पर्यटकीय स्थलमध्येको एक हो ।