Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

दीपक मनाङेले किन फिर्ता लिए सर्वोच्चबाट पुनरावलोकन निवेदन?

सर्वोच्च अदालतबाट आफूलाई दोषी ठहर गर्ने फैसला पुनरावलोकनका लागि दीपक मनाङे (राजीव) गुरुङले दिएको निवेदन फिर्ता भएको छ।

ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै उच्च अदालत पाटनले उनलाई पाँच वर्ष कैदको फैसला गरेको थियो । फैसलापछि उनी डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन् । सर्वोच्चले पनि सोही फैसला सदर गरेपछि मनाङेले त्यसलाई पुनरावलोकन गर्न निवेदन दिएका थिए ।

तर पछि उनले उक्त निवेदन फिर्ता गर्न भन्दै अर्को निवेदन दिएका थिए । उनको निवेदनमा बिहीबार कुमार रेग्मी, हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा पेसी तोकिएको थियो । इजलासले मनाङेको मागबमोजिम नै हुने आदेश गरेको छ । उनले निवेदन फिर्ताका लागि यही वैशाख ८ गते निवेदन दिएका थिए । त्यसअघि उनले २०८१ माघ ४ गते फैसला पुनरावलोकनका लागि निवेदन दिएका थिए ।

गण्डकी प्रदेशका सांसद मनाङेलाई यसअघि जिल्ला अदालतले २० प्रतिशत कैद छुट दिने आदेश गरिसकेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले गएको फागुन २३ गते उनले माग गरे बमोजिम २० प्रतिशत कैद छुट दिन आदेश दिएको हो । मनाङेले ५ वर्ष कैदको २० प्रतिशत छुट पाउँदा एक वर्ष कम कारागार बस्नुपर्छ ।