Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सरकारको होइन, चुनावको चिन्ता गर्नुस्: प्रधानमन्त्री ओली

‘युवाले पाखण्डी राजतन्त्रलाई देखिने, सुनिने गरी अस्वीकार गर्नुपर्छ’

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई ढुक्क भएर मिसन २०८४ मा लाग्न आग्रह गरेका छन् । आज (बिहीबार) एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारबारे धेरै चिन्ता नलिन र मिसन ०८४ मा लाग्न आग्रह गरे ।

‘सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनवाको बारेमा चिन्ता गर्नु पर्दछ,’ ओलीले भने, ‘नेकपा एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ । हामीले मिसन २०८४ भनेका छौं । म साथीहरुलाई आग्रह गर्न चाहन्छु– ढुक्कले मिसन २०८४ मा लाग्नुहोस् ।’ उनले भने, ‘सरकार चलाउने, सरको नेतृत्व गर्ने जे गर्नुपर्छ यहाँ, सकेसम्म एमालेले गर्नेछ । यस कुरामा चिन्ता नगर्नुहोस् । मिसन २०८४ मा लाग्नुहोस् ।’


‘युवाले पाखण्डी राजतन्त्रलाई देखिने, सुनिने गरी अस्वीकार गर्नुपर्छ’
प्रधानमन्त्री ओलीले युवाहरूले नै देश अगाडि बढाउनु पर्ने भन्दै जन्मजात श्रेष्ठताका आधारमा शासन गर्न खोज्ने राजतन्त्रलाई देखिने र सुनिनेगरी अस्वीकार गर्नुपर्ने बताएका छन् । उनले राजतन्त्र पक्षधरले हालै काठमाडौँमा विध्वंश मच्चाएर आफ्नो असली रुप देखाइसकेको समेत बताए । ‘अब देशलाई तपाईंहरूले अगाडि बढाउनु पर्नेछ,’ ओलीले भने, ‘देश कस्तो बनाउने ? जन्मिँदै श्रेष्ठताको कुनै वैज्ञानिक आधार नभएको पाखण्डी सिद्धान्त, कुल घरानाका आधारमा शासन गर्न खोज्ने सामान्ती युगलाई फेरि फर्काउने आवाज पनि कता कता सुनिन थालेका छन् ।’

उनले भने, ‘लोकतन्त्र नमान्ने, संविधान नमान्ने । जनताको बलिदानको अपमान गर्ने, संघर्षको अपमान गर्ने, सफलतालाई अस्वीकार गर्ने र मजाक उडाउने काम भएको छ । जनताको हत्या गर्ने, तोडफोड गर्ने, आगजानी गर्ने, मिडिया गृहमा आगजानी गर्ने । यसरी कुन शासन ल्याउन खोजेका छन् भन्ने प्रष्ट भएको छ । अब युवाहरूले त्यस्ता कुरालाई देखिने गरी, सुनिनेगरी अस्वीकार गर्नु पर्दछ ।’