Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

कश्मीरमा मारिएका सुदिपको शव रुपन्देही ल्याइयो, आजै अन्त्येष्टि गरिने

भारतको जम्मु कश्मीरमा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपाको शव नेपाल ल्याइएको छ। मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले गोली हानेर हत्या गरेका सुदिपको शव भारतको नयाँ दिल्लीबाट लखनउसम्म हवाई मार्गबाट र त्यहाँबाट बेलहिया नाका हुँदै सडक मार्गबाट ल्याइएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिए ।

‘आज बिहीबार बिहान सुदिपको डेथ बडी बेलहिया नाका आइपुग्यो । अब यहाँबाट हामीले बुटवल घरसम्म पुर्‍याइदिन्छौं’, प्रहरी उपरीक्षक राठौरले भने । २७ वर्षीय सुदिप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको वैसरण उपत्यकामा हिउ खेल्न र घुम्न भन्दै त्यसतर्फ प्रस्थान गरेका थिए। त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलबार दिउँसो एक्कासी बन्दुकधारी आतंकवादीले गोली हानेर सुदिपको हत्या गरेका थिए ।

सुदिपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाएका थिए । भाग्ने क्रममा रिमाकला सामान्य घाइते भएकी छिन् । सुदिपको शवसँगै आमा र बहिनी ज्वाइँ पनि रुपन्देही आएका छन् । उक्त आतंकवादी घटनामा कम्तिमा २६ जना मारिएका छन्, तीमध्ये दुई जना विदेशी नागरिक थिए ।

बुटवल उपमहानगरपालिका– १४ का वडाध्यक्ष समेत रहेका सुदिपका काका दधिराम न्यौपानेले सुदिपको शव बेलहियाबाट बुटवल–११ म्नकामना पथस्थित आफ्नै घरमा लैजाने जानकारी दिए । आजै उनको अन्त्येष्टि गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ । 

शिक्षण पेशामा आवद्ध बुबा ध्रुव न्यौपाने शिक्षक आन्दोलनका क्रममा काठमाडौंमा थिए। मंगलबार घर फर्किने क्रममा उनले छोराको अप्रिय खबर थाहा पाएका थिए।