Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

'शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा बारे सरकारलाई जानकारी छैन्'

सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएको भन्नेबारे सरकारलाई जानकारी नै नरहेको बताएका छन् ।

आज (बुधबार) मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको कार्यालयमा उनले राजीनामा बुझाएको सरकारको जानकारीमा नरहेको बताएका हुन् ।

‘शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले राजीनामा दिएको भन्ने कुरा सरकारको जानकारीमा छैन । प्रधानमन्त्रीको कार्यालयमा राजीनामा दिएको भए सरकारको प्रवक्तालाई थाहा हुन्छ, क्याविनेटको मिटिङमा जानकारी हुन्छ । राजीनामा स्वीकृत गर्ने त प्रधानमन्त्रीले नै हो । आजको दिनसम्म हामीलाई उहाँले राजीनामा दिएको जानकारी छैन,’- उनले भने ।

शिक्षामन्त्री भट्टराईले भने गत सोमबार राजीनामा बुझाएकी हुन् । आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले असहयोग गरेको भन्दै उनले राजीनामा दिएको बताइएको छ । प्रधानमन्त्री ओलीको तीब्र आलोचना भएसँग सरकारले उनको राजीनामा पनि गुपचुप राख्ने प्रयास गरिरहेको छ ।