नेकपा माओवादी केन्द्र केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार नरहेको निष्कर्ष निकालेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको दाबी बताएको छ । बुधबार समसामयिक विषयवस्तुबारे पार्टीको धारणा सार्वजनिक गर्नका आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रले यस्तो दावी गरेको हो ।
पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक रुपमा वर्तमान सरकारले वैधानिकता गुमाइसकेकाले आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको बताए । अब यो सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको उनको तर्क छ। उनले वर्तमान गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको जिकिर गरे ।
पत्रकार सम्मेलनमा सापकोटाले भने, ‘वर्तमान सरकार प्राविधिक रुपमा त आफ्नो अस्तित्वमा छ । वैधानिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको छ । यस अर्थमा आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको यो सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन ।’
त्यस्तै माओवादीले प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएको भ्रष्टाचारविरोधी अभियानलाई उल्टाउने मात्रै नभई सुशासन कायम गर्न लागेका अधिकारीलाई छानी छानी यो सरकारले दण्डित गरेको पनि निष्कर्ष निकालेको छ । प्रवक्ता सापकोटाले आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने र विपक्षीप्रति सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारवाहीको श्रृंखला नै खडा गरिएको बताए । उनले वर्तमान सरकारका निर्णय सवै बिचौलियाको स्वार्थमा जनहित र राष्ट्र हितविपरीत रहेको उल्लेख गरे ।
त्यस्तै माओवादी केन्द्रले शिक्षकका माग पूरा गर्नुभन्दा सरकारले उनीहरूलाई होच्चाउने र अपमानित गर्ने काम गरेको जनाएको छ । शिक्षा विधेयक फास्टट्रयाकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न माओवादीले सरकारसँग माग गरेको छ ।