पर्ख पर्ख १५ महिनापछि राजीनामा दिन्छु
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफुबिनाको एमाले र एमालेबिनाको नेपालको खोजी भइरहेको भन्दै आपत्ति जनाएका छन् । उनले अहिले आफूहरु मिसन ८४ मा केन्द्रित रहेको बताउँदै फेरि पनि मेची–महाकाली यात्रामा निस्किएर शक्ति देखाउने बताए ।
“हामी मिसन ८४ मा केन्द्रित छौँ । कुनै प्रकारको द्विविधा मनमा नलिनुस् । आत्मविश्वास राणा शासनसँग जुधेर बाँचेर आएको पार्टी हो,” उनले भने, “पञ्चायत र निरंकुश राजतन्त्रसँग जुधेर आएको पार्टी हो । सबै शक्ति एकजुट भएर सिध्याउँछु भनेर आउँदा जोगिएर आएको पार्टी हो । यो कुरा जनताले बुझेको छ । अब पनि मेची महाकाली यात्रा गर्नेछौँ ।”
उनले अहिले एमालेबिनाको नेपाल खोजी भइरहेको भन्दै आपत्ति जनाए । “किन खोजिँदैछ केपी ओली बिनाको एमाले ? मनसाय राम्रो भएको भए छाडिदिन्थेँ,” उनले भने, “केपी ओलीबिनाको एमाले, एमालेबिनाको नेपाल चाहियो रे ? मिसन ८४ मा हेरौला ?”
पर्ख पर्ख १५ महिनापछि राजीनामा दिन्छु
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएको तर सबै मिडियाका हेडलाइन आफूविरुद्ध भएको बताएका छन् । “एकजना मन्त्रीले राजीनामा दिनुभयो । किन भन्दा प्रधानमन्त्रीले काम गर्न दिनुभएन रे ?,” उनले भने, “उहाँले घाँटीको अपरेशन गर्नुभयो । ठिक भएन सक्नुभएन राजीनामा दिनुभयो । सबैको हेडलाइन मेराविरुद्ध छ । सबैले एकठाउँमा बसेर सल्लाह गरेर लेखेजस्तो छ । प्रस्ताव पारित नै गरेर टेलिफोन गरेर योजनावद्ध भएर लेखेका छन् ।”
उनले नयाँ शक्तिले प्रधानमन्त्रीले राजीनामा कहिले दिने भनेर प्रश्न गरेको बताउँदै आक्रोश व्यक्त गर्दै भने, “पर्ख पर्ख मैले १५ महिनामा राजीनामा दिन्छु । प्रधानमन्त्रीको राजीनामा कहिले भनेका छन् ? मैले भन्छु १५ महिनामा राजीनामा दिन्छु । पर्ख पर्ख १५ महिनामा राजीनामा दिन्छु । पत्रिकालाई अरु नै बनाउन मन होला ।”
आरजू राणाको बैठक र शेरबहादुर देउवाको भ्रमणलाई लिएर यहाँ सरकारका विरुद्धमा अफवाह फैलाइएको बताए । “कांग्रेस र एमाले मिल्नुहुँदैन भनेर खोज्न जानुभएको हो ? शेरबहादुर देउवा थाइल्यान्ड ?,” उनको प्रश्न थियो, “१५ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्ने हो । उहाँको सरकारमा आए हुन्छ । अहिले नै सहयोग गरे पनि हुन्छ । देउवा आएपछि के हुन्छ भनेर हल्ला चलाएका छन् । नेपालमा प्रतिगमन हुनेवाला छैन ।” उनले आफूलाई बूढो देख्ने भए २०–२५ वर्ष पर्खिन अनुरोध गरे ।