Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

देशमा आन्दोलन चर्किएको छ, ओली बाँसुरी बजाएर बस्नुभएको छ: घनश्याम भूसाल

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले सत्तामा रहेका दलहरु काम एकातिर, कुरा अर्कैतिर गर्ने गरेको टिप्पणी गरेका छन् ।

एकीकृत समाजवादीको ७६ औँ स्थापना दिवसको अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले सत्ता गठबन्धनका प्रमुख घटक एमाले–कांग्रेसदेखि विपक्षी सहयात्री दल नेकपा माओवादी केन्द्रसम्मको आलोचना गरेका हुन् ।

उनले भने, ‘यत्रो आन्दोलन चलिरहेको छ । निरो बाँसुरी बजाएर बस्नु भएको छ, कमरेड ओली । बैशाख ११ गते आइलभयू केपी बा भन्ने रे ! कमरेड केपी हाम्रो हिसाब देऊ, लोकतन्त्रमा यो तहको आक्रमण गरेको हिसाब देऊ भन्नुपर्ने हो र,’उनले थपे, ‘सारा संकटले देश डुब्दैछ । उनलाई नाम चाहिएको छ । एक लाख मान्छे जम्मा भएर ‘केपी बा’ भनिदिउन भन्ने अपेक्षा गर्नुभएको छ । त्यो तहमा पुग्ने नेताका लागि, यो तहको आकांक्षा हुनु देशको दुर्भाग्य होइन ?’

साथै उनले शिक्षकको आन्दोलन चलिरहेका बेला उनीहरूका जायज माग सम्बोधन गर्नुको साटो शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको बताए । उनले देशमा उकुसमुकुस निराशाको अवस्था रहेको र त्यही मौकामा पुनरुत्थानवादी र अराजक तत्वहरूले टाउको उठाउन खोजेको भन्दै आलोचना गरे ।