नेपाल शिक्षक महासंघले कक्षा-१२ को परीक्षामा शिक्षक/कर्मचारीहरू सहभागी नहुने जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी र सुरक्षाकर्मीहरू खटाएरै भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि महासंघले यस्तो बताएको हो।
सरकारले निजामती कर्मचारी लगाएर कक्षा १२ को परीक्षा गराउने तयारी गरेपछि महासंघले यस्तो बताएको हो । महासंघले आन्दोलन स्थलबाटै हाल शैक्षिक हडतालको समयमा सामुदायिक विद्यालयका सम्पुर्ण प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरुलाई कक्षा १२ को परीक्षा सञ्चालनमा कुनै पनि किसिमको सहयोग नगर्नु नगराउनु तथा सहभागीता नजनाउनु हुन अनुरोध गरेको छ ।
मंगलबार नै राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गते देखि हुने कक्षा १२ को परीक्षा नियमित संचालन गर्ने र शिक्षकहरुले सहयोग नगरेमा अन्य सरकार कर्मचारीलाई लगाएर परीक्षा संचालन गर्ने निर्णय गरेको थियो । सोमबार मात्र शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा गरेपछि अन्योल बढेका बेला सरकारले शिक्षकहरुको आन्दोलनलाई बेवास्ता गर्दै परीक्षा संचालन गर्ने तयारी गर्न निर्देशन दिएको बताइएको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने,‘राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी र सुरक्षा निकायका मान्छे परिचालन गरेर भए पनि परीक्षा चलाउँछु भनेको रहेछ,त्यो उसको कुरा हो,कोही पनि प्रधानाध्यापक शिक्षक र कर्मचारी त्यो प्रकृयामा सामेल हुँदैनौँ, नहुनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ, कापी पनि उनीहरूले नै परीक्षण गरून्,परीक्षा पनि उनीहरूले नै चलाऊन्, हामी पनि हेरौँला।’
शिक्षा विधेयक जारी गर्न माग राख्दै महासंघको अगुवाइमा चैत २० गतेदेखि शिक्षक/कर्मचारीहरूले काठमाडौंमा आन्दोलन गर्दै आएका छन्। कक्षा १२ को परीक्षा यही वैशाख ११ देखि सञ्चालन हुँदै छ। कक्षा १२ मा करिब पाँच लाख विद्यार्थी सहभागी हुँदै छन्।