Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

राजीनामा लगतै विद्याले छाडिन् मन्त्री क्वार्टर

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईले भैंसेपाटीस्थित मन्त्री क्वार्टर छोडेकी छिन् ।

आज सोमबार प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएर उनी सिधैं आफ्नो निजी निवासमा गएकी छिन् । ‘उहाँ आफ्नै चाबहिल घरमा आराम गरिरहनु भएको छ,’ स्रोतले भन्यो, ‘बालुवाटरमा सहयोगीको गाडीमा आउनु भएको थियो।’

मन्त्री भट्टराईले सरकारी गाडी क्वार्टरमै छोडेर गएकी छिन् । स्वास्थ्यको कारण देखाएर मन्त्री भट्टराईले राजीनामा दिएकी हुन् । गत असार ३१ मा प्रधानमन्त्री ओलीले उनलाई मन्त्रीमा नियुक्त गरेका थिए । ८ महिनामा नै उनले राजीनामा दिएकी हुन् । गएको माघ १७ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भनेकी थिइन्, ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु । विधेयक ल्याउने भनेर बसेको हो । सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ । म पदमा बसिरहँदा कुनै पनि कुरा पाउँछु भनेर बसेको होइन । कमाउँछु भनेर बसेको होइन । समुदायको हितमा काम गर्न सकिनँ, अब काम गर्न सकिँदैन भन्ने लागेको क्षण पद छोड्न तयार छु ।’


नेकपा एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रदेश परिषद्मा उनले बोलेका कुरालाई धेरैले पत्याएनन् । तर, उनै विद्याले शिक्षा विधेयक एवं शिक्षक आन्दोलनको पिरलोले थिचिएकै अवस्थामा मन्त्री पदबाट राजीनामा दिएकी छन् ।