उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्त कार्यालय काठमाडौंअन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना (गौरीघाट) मा अमिन पदमा करारमा कार्यरत दिनेशप्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ करोड २९ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ ।
गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा यादवको तलब, भत्ता र अन्य वैध कारोबारबाट जम्मा २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ आम्दानी देखिएको भए पनि, सो अवधिमा उनले ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ खर्च गरेको पाइएको आयोगले जनाएको छ ।
आय र व्ययको फरकलाई गैरकानुनी सम्पत्ति ठहर गर्दै आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मुद्दा दायर गरेको हो । यादवले सार्वजनिक पदमा रहँदा आर्जन गरेको सो सम्पत्ति श्रीमती अमृताकुमारी यादवको नाममा समेत राखेको पुष्टि भएको भन्दै आयोगले उनीमाथि पनि प्रतिवादी कायम गरी मुद्दा अघि बढाएको छ ।