Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै नागरिकले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ खण्ड एसियाली मापदण्डमा निर्माण सम्पन्न भएपछि आयोजित उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडक निर्माणलाई राष्ट्रिय गौरवको परियोजना ठहर गर्दै यस्ता पूर्वाधारले देशको समग्र विकासमा टेवा पुर्‍याउने बताएका हुन् ।

Photo (3).jpeg

उनले भने, ‘अरूले आएर देश बनाइदिँदैन, हामी आफैंले मिलेर देश बनाउनुपर्छ, देश विकासको गति लिएको छ, कतिपय क्षेत्रमा ढिलाइ भए पनि समग्रमा प्रगति उल्लेखनीय छ । हामीले एसियन स्ट्यान्डरको झण्डै ६.०८ किलोमिटर सडक पहिलोपटक निर्माण गरेका छौं, जुन नमुना हो र आगामी दिनमा देशभर यस्ता बाटा विस्तार गरिनेछ ।’

प्रधानमन्त्री ओलीले पूर्वाधार विकासलाई आफ्नो सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै सडक, पुल, हवाई यातायात, केवलकार, सञ्चार, इन्टरनेट सेवा, स्वास्थ्य, शिक्षा, खेलकुद र विद्युत उत्पादनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भइसकेको दाबी गरे । उनले चितवनलाई भौगोलिक दृष्टिले केन्द्रमा रहेको भन्दै शिक्षा, स्वास्थ्य, पर्यटन र समग्र विकासको हिसाबले चितवनलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए ।