Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

आज पक्राउ परेका राप्रपाका सात नेताकार्यकर्ता रिहा, चैत १५ गते पक्राउ परेका नेतालाई रिहा नगरेसम्म आन्दोलन जारी राख्ने

प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई रिहा गरेको छ । नियन्त्रणमा लिइएको सातैजनालाई छाडिएको काठमाडौं प्रहरीका एसपी अपिलराज बोहराले जानकारी दिए ।

सिंहदरबार परिसरबाट पक्राउ परेका उनीहरूलाई झन्डै चार घण्टापछि छाडिएको हो । उनीहरूलाई जिल्ला प्रहरी परिसरको कार्यालय भद्रकालीबाट छाडिएको हो । निषेधित क्षेत्रमा प्लेकार्ड प्रदर्शन गरेपछि प्रहरीले लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितलाई नियन्त्रणमा लिएको थियो ।

Photo (4).jpg

राप्रपाले चैत १५ गते पक्राउ परेका नेताहरूलाई रिहा नगरेसम्म आन्दोलन जारी राख्ने भएको छ । आइतबार साँझ प्रहरीको नियन्त्रणबाट छुट्कारा पाएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको आन्दोलन जारी रहने बताएका हुन् । सञ्चारकर्मीले लिङ्देनलाई चैत १५ गते पक्राउ परेका नेताहरूबारे प्रश्न गरेका थिए । जवाफमा लिङ्देनले भने, "रिहाइ नभएसम्म यस प्रकारका आन्दोलनमा रहन्छौँ ।" उनले आगामी कदमबारे पार्टीमा छलफल हुने बताए । 

यसैगरी, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पनि पक्राउ परेका थिए । निषेधित क्षेत्र तोडेर गिरफ्तारी दिने उद्देश्यसहित राप्रपाले आज काठमाडौंको बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको थियो ।