Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

कार्यालय समयमा काठमाडौंमा सवारी आवागमन अस्तव्यस्त

काठमाडौंको मुख्य क्षेत्रमा आज (वैशाख ७) बिहानैदेखि सवारी आवागमन अस्तव्यस्त भएको छ। माइतीघर–बानेश्वर सडक खण्डमा शिक्षकले गरेको प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी दीपक गिरीले जानकारी दिए ।

‘शिक्षक आन्दोलनका कारण बानेश्वर–बबरमहल–माइतीघर सडकखण्ड बन्द गरिएको छ । खोला करिडोरतर्फ डाइभर्सन गरिएको छ’, उनले भने, ‘आज निषेधित क्षेत्रमा राप्रपाको पनि आन्दोलन भएकाले काठमाडौंका विभिन्न ठाउँबाट सवारी डाइभर्सन गर्नुपर्ने हुनसक्छ ।’ बिहान ९ बजेदेखि शिक्षकको प्रदर्शन जारी छ । मध्याह्न १२ बजेपछि राप्रपाको प्रदर्शन सुरु हुनेछ । विगत १९ दिनदेखि जारी शिक्षकहरूको आन्दोलन आज (आइतबार) पनि जारी छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले आज पनि प्रदर्शन जारी राखेका हुन्। गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत छन्। शिक्षामन्त्री विद्या भट्टराई, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल गरेका शिक्षक पछि हट्न मानेका छैनन् ।

विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरूको अडान छ । आन्दोलनमा सहभागी रहँदा एसएसइ परीक्षाको उत्तर पुस्तिका, कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि शुरु हुने र यसमा पनि शिक्षकहरू सहभागी हुनेछन् ।