Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रचण्डले गरे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र अवलोकन

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कपिलवस्तुस्थित तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीनस्थलको अवलोकन गरेका छन् । उनले उक्त क्षेत्रको संरक्षण र समृद्धि गर्दै पर्यटकीय विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता समेत औंल्याएका छन् ।

अध्यक्ष प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित अभियानका क्रममा तराईका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको भ्रमण गरिएको जानकारी दिँदै भने, ‘हामीले तराईका हरेक क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाहरूको अध्ययन र विश्लेषण गरिरहेका छौं ।’

उनले तिलौराकोटलाई ऐतिहासिक दृष्टिले महत्वपूर्णस्थलको रूपमा चिनाउँदै बुद्धको प्रारम्भिक जीवनसँग प्रत्यक्ष सम्बन्ध रहेको यो क्षेत्रको प्रचारप्रसार र विकासमा राज्यले प्राथमिकता दिनुपर्ने धारणा समेत राखेका छन्।

ऐतिहासिक प्रमाणअनुसार, तिलौराकोट बुद्धको बाल्यकालको घर हो, जहाँबाट उनी तपस्याको बाटोमा निस्किएर बुद्धत्व प्राप्त गर्न अघि बढेका थिए, लुम्बिनीमा जन्मिए पनि बुद्धको बाल्यकाल र युवावस्था यही तिलौराकोटमा बितेको इतिहासकारहरू बताएका छन।