Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज सिन्धुपाल्चोकको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छन् । 

वार्षिक २० अर्ब बढी राजस्व उठ्ने नेपाल–चीन व्यापारिक नाकाका रूपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी आज उनले सो निर्देशन दिएकी हुन् ।

यसका लागि सरकारले पनि आवश्यक पहल गर्ने उनले बताइन् । पर्यटन प्रवद्र्धनका हिसाबले पनि सो नाका महत्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोबारका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा उनको जोड थियो ।

मन्त्री राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौं कोदारी राजमार्गका साथै तातोपानी नाकासँग जोडिएका अन्य सडकको पनि स्तरोन्नति गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने सो अवसरमा बताइन् । यस विषयमा उनले सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालाहरूसँग जानकारी लिई स्तरोन्नतिका लागि आवश्यक परामर्श पनि गरेकी थिइन् ।