Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

अर्घाखाँचीमा विप्लवको अकबरे खेती

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ अर्घाखाँचीको शीतगंगामा अकबरे खुर्सानी लगाइरहेका छन् । शीतगंगा नगरपालिका–११ मान्द्रेस्थित कृषि जनकम्युनमा महासचिव विप्लव, उनका निजी सचिव अडिग बोगटी लगायत १५ जना टोलीले अकबरे खुर्सानी रोपिरहेका छन्।

देशलाई आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिने पार्टीको नीति अनुरूप नेकपाले देशभर उत्पादन अभियानलाई व्यापक बनाएको पार्टी सम्बद्ध पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले बताए। अर्घाखाँची पुगेका विप्लवले खुर्सानी रोप्दै सामूहिक व्यावसायिक उत्पादन आत्मनिर्भरताका लागि अनिवार्य भएको बताए ।

‘आत्मनिर्भरताका लागि यो कार्य अनिवार्य छ। अनि मात्र देश समृद्ध हुन्छ’, विप्लवले भने । कहिले कपिलवस्तुमा धान रोपिरहेका हुन्छन् भने, कहिले जुम्लामा स्याउका विरुवा रोप्दै गरेको देखिन्छन्। केही अगाडि कालीकोट पुगेर भेडा फर्म उद्घाटन गरेका विप्लवले पछिल्लो ३ हप्ता पूर्वी नेपालको राजनीतिक एवं सांगठनिक भेटघाट र काठमाडौंमा समाजवादी मोर्चा लगायत पार्टीका विभिन्न कार्यक्रममा बिताए।

त्यसपछि कपिलवस्तु फर्किएका विप्लव सचिवालय टोली लिएर शिवगढी केन्द्रीय कार्यालयबाट झन्डै २० किलोमिटर टाढा पार्टीले सञ्चालन गरेको जनकम्युन सीमा पुगेका छन्।