Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

प्रचण्डलाई कांग्रेसको जवाफः तपाईंले भनेकै आधारमा सरकार ढल्दैन

सत्ता साझेदार नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भनेकै आधारमा सरकार नढल्ने बताएको छ ।

 बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले प्रचण्ड प्रतिपक्षमा भएकाले सरकार ढल्दैछ भन्नु स्वभाविक भएको बताएका छन्। उनले भने, ‘प्रचण्ड प्रतिपक्षमा हुनुहुन्छ, उहाँले यो सरकार ढलिहालोस् भन्नु स्वभाविक हो । उहाँले भनेको कुरामा हाम्रो टिप्पणी छैन । तर उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र भत्किने हुँदैन ।’

प्रचण्डले केही दिनयतादेखि कांग्रेसभित्र असन्तुष्टि बढेको भन्दै सरकार ढल्ने दाबी गरेका थिए । प्रचण्डले ओली सरकार ढाल्न कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको बताएका थिए । कांग्रेसले सरकारकारले अझै सशक्तरुपमा डेलीभरी बढाउनु पर्ने र गठबन्धनबीच तालमेल गर समन्वय गर्नुपर्नेमा जोड दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निजी निवासमा बसेको नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरुको बैठकपछि यस्तो जोड दिइएको हो । ‘सरकारको परफरमेन्स अझ राम्रो हुनुपर्छ, गठबन्धन दलबीच बढी समन्वय हुनुपर्‍यो र सन्तुलन हुनुपर्‍यो,’ बैठकपछि प्रवक्ता प्रकाशरण महतले भने, ‘अझ सशक्तरुपमा सरकारले डेलीभरी दिनसक्नु पर्दछ र तालमेल राम्रो मिल्नु पर्दछ भन्ने कुरामा साथीहरुले कुराकानी राख्नु भयो ।’ 

उनले नेताहरुले उठाएको यस्ता कुराका बारेमा नेतृत्वले निरन्तर छलफल गरिरहहेको र त्यो कुरा हुन्छ भन्ने आश्वासन पनि नेतृत्वले दिलाएको बताए। ‘त्यो सम्बन्धमा नेतृत्व तहले निरन्तर कुराकानी पनि गरिराख्या छौं,’ महतले भने, ‘जहाँ सुधाकारको आवश्ता छ, समन्वयको आवश्यकता छ । त्यो कुरा हुन्छ । गराउँछौं भन्ने नै कुरा भएको छ ।’