Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

सरकार र सभामुखका कुरा बाझिदा शिक्षकहरु खिन्न, आन्दोलन थप सशक्त बनाउने

दुई सातादेखि जारी शिक्षक आन्दोलनलाई सम्बोधन गर्ने गरी मंगलबार सरकारले गरेको आह्वान विपरीत हुने गरी सभामुख देवराज घिमिरेको मन्तव्य दिएपछि शिक्षकहरु खिन्न बनेका छन् ।

मन्त्रिपरिषद्को बैठकपछि मंगलबार राति नै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले यथासक्य छिटो विधेयक पारित गर्न संसद बोलाइएको बताएकी थिइन् । शिक्षकका सेवा सुविधा बजेटले सम्बोधन गर्ने र विधेयक आउँदो संसदको अधिवेशनले पारित गर्ने भन्दै सरकारले आन्दोलनरत शिक्षकलाई कार्यक्षेत्र फर्किन भनेको थियो । नयाँ शैक्षिक सत्र र भर्ना अभियान, एसईई परीक्षाको उत्तरपुस्तिका जाँच र १२ कक्षाको परीक्षा सञ्चालनमा बाधा नपु¥याउन समेत आग्रह गरेको थियो ।

आन्दोलनरत शिक्षक शिक्षक महासंघ सरकारसँग आश्वस्त नभइरहेका बेला प्रतिनिधिसभाका सभामुख घिमिरेले दिएको एउटा सार्वजनिक अभिव्यक्तिले शिक्षकलाई झन सशंकित बनाएको छ । सभामुख घिमिरेले बर्खे अधिवेशनमा १५ जेठमा बजेट ल्याउने र असार मसान्तभित्र पारित गर्नुपर्ने भएकाले अरु विधेयक पारित गर्न सम्भव नहुने टिप्पणी गरेका छन् । त्यसले आन्दोलनरत शिक्षकहरूको आशंकामा बल दिएको छ । शिक्षक महासंघले निर्णायक आन्दोलन भन्दै थप शिक्षक काठमाडौं बोलाएको छ ।

शिक्षक आन्दोलनको अवतरण अनिश्चित भएपछि सत्ता गठबन्धन दलहरूको संयन्त्रमा पनि छलफल हुँदै छ । अहिले संयन्त्रको बैठक बस्दैछ । संयन्त्रका सदस्यसमेत रहेका एमाले महासचिव शंकर पोखरेलले भने शिक्षा विधेयक अघि बढाउनकै लागि संसद अधिवेशन केही दिन अघि सारिएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसद अधिवेशन छिटो बोलाउनुको अर्थ विद्यालय शिक्षा ऐन छिटो पास गर्न सहज होस् भन्ने पनि हो । अब शिक्षकहरूले आफ्ना मागलाई बजेटमार्फत सम्बोधन गर्नेगरी वार्तामा संलग्न हुँदै विद्यालय सञ्चालनमा जुट्नु पर्दछ ।’