Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सरकारको गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेका छौंः गगन थापा

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको बताएका छन् । बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले जुन उद्देश्यले सरकार गठन भएको थियो त्यो अनुसार काम गर्न नसकेको बताए ।

उनले भने, ‘अहिले कांग्रेस र एमाले मिलेर बनेको सरकार छ, यो सरकार बन्नुपथ्र्यो, पर्दैनथ्यो त्यो चरण अब सकियो । कांग्रेस र एमाले दुई ठूला प्रतिस्पर्धी पार्टीहरुबीचको सरकार ठूलो उद्देश्यले बनेको छ । तर त्यो उद्देश्य पूरा गरिनु पर्छ । यो पटक संविधान संशोधन र सुशासनको एजेण्डामा मिलेका हौं । तर यो सरकार बनेपछिको अहिलेसम्मको अवधिलाई हेर्दा जुन अपेक्षाअनुसार मिलेका थियौं त्यो पूरा हुन सकेको छैन । त्यसैले हामीले गम्भीर समीक्षा गर्नैपर्छ । जुन गतिमा हिँड्नुपर्ने त्यो हुन सकिरहेको छैन ।’ उनले सरकारले गर्नुपर्ने निर्णय नगरेर नगर्नु पर्ने निर्णय गरिरहेको भन्दै आलोचना समेत गरे । यद्यपि, कांग्रेस एमालेसँगको सहमतिमा प्रतिबद्ध रहेको भन्दै ०७४ सम्म सरकार अदलबदलमा नलाग्ने प्रष्ट पारे ।

महामन्त्री थापाले ०८४ को चुनावमा कुनै पार्टीले पनि गठबन्धनको कल्पना गर्न नहुने बताए । उनर्ले ै चुनावअघि होस् वा पछि दुवै गठबन्धन नफापेको बताएका छन् । अहिले जतिसुकै बलियो गठबन्धनबाट प्रधानमन्त्री बने पनि प्रत्येक दिनजस्तो सरकार ठिक छ भनिराख्नु पर्ने स्थिति रहेको बताए । उनले यस्तो परिस्थितिको अन्त्य गर्नको लागि निर्वाचन प्रणालीमा काम गर्नुपर्ने बताए ।

उनको भने, ‘हामीले एउटा पार्टीले एक्लै लडेर बहुमत ल्याउने पार्टी बनाउन सक्छु भन्ने स्थितिको निर्माण हामीले गर्नुपर्नेछ । हामीले निर्वाचन प्रणालीबारे पार्टीभित्र र अन्य दलहरूसँग पनि छलफल चलाउनु पर्नेछ । ०८४ को चुनावमा कुनै पार्टीले गठबन्धन गर्नेबारे कल्पना नै नगरोस्, गठबन्धनबारे कसैको पनि राम्रो अनुभव छैन। यो चुनावमा हामीले माओवादीसँग मिलेर लड्यौँ। अहिले एमालेसँग सरकारमा छौँ । एमाले र माओवादीले त पार्टी नै एउटै बनाए, अहिले एक अर्कासँग मारामार छ । हामी कसैसँग पनि गठबन्धनको राम्रा अनुभव छैन ।’

उनले भने, ‘भारत, युरोपमा पनि गठबन्धन हुन्छ, हुँदैन नहुने भन्ने होइन । तर नेपालमा न चुनाव अघिको गठबन्धन राम्रो चल्यो, न चुनावपछिको । प्रत्येक गठबन्धनको प्रधानमन्त्रीले दिनमा दुई पटक, कहिलेकाहीँ तीन–चार दिनमा एक पटक आएर मेरो सरकार ठिक छ भन्नै पर्छ । जति बलियो भए पनि, टिक्छ टिक्छ, हिजो बेलुकासम्म नटिक्ने थियो, आज आइपुग्दा टिक्ने भइसक्यो भन्नुपर्ने अवस्था छ । त्यसैले हामीकहाँ गठबन्धनको संस्कृति राम्रो भएन ।’