नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैशाख १७ गते बस्नेगरी सभापति शेरबहादुर देउवाले बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
उनका अनुसार बैठकमा दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको उनले बताए ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको गतिविधिबारे छलफल हुने जनाइएको छ । एमाले सत्ता सहकार्य थालेको ९ महिनामै कांग्रेसभित्र असन्तुष्टि चुलिएको छ । बैठकमा त्यसबारे पनि छलफल हुने जनाइएको छ ।
ओलीले देउवालाई भने- विपक्षीले खेल्ने मौका पाए, असन्तुष्टिबारे कांग्रेस नेताहरूसँग कुरा गर्नुस्
मंगलबार सत्ता गठबन्धन दलका दुई शीर्ष नेता प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एक घण्टा लामो भेटवार्ता भएको छ । बिहान ११ बजेदेखि भएको एक घण्टा लामो भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले कांग्रेस नेताहरूले सरकारबारे सार्वजनिक रूपमा दिएका अभिव्यक्तिबारे सोधीखोजी गरेका थिए ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरू शेखर कोइराला र एनपी साउद लगायतले सरकारले कामको गति बढाउन नसकेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठाइरहेका बेला दुई नेता वार्तामा बसेका हुन् । मंगलबार मात्रै महामन्त्री थापाले सकरारको गतिलाई कछुवाको भन्दा सुस्त भनिदिए । उनले त्यति मात्रै नभएर प्रधानमन्त्रीको बेडसम्मै बिचौलियाको पहुँच रहेको तिखो टिप्पणी पनि गरिदिए । उता अर्का नेता कोइराला पनि यो सरकारलाई लिएर आक्रमक भइरहेका छन्।
एकपछि अर्का कांग्रेस नेताहरूले सरकार र त्यसको नेतृत्वकर्ता प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर घेर्न थालेपछि ओलीले सभापति देउवालाई नेताहरूको धारणा बुझेर आफूलाई खबर गर्न भनेका छन् ।