Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

पूर्वराजालाई एमालेको प्रश्न: लुटपाट र विध्वंस जनतामा आएको जागरण हो?

सत्तारुढ नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाको जिम्मेवारी लिनुपर्ने बताएको छ। आज (सोमबार) बसेको पार्टी सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले तीनकुने घटनाको जिम्मेवारी नलिएर पूर्वराजा शाह पन्छिएको बताए ।

‘उहाँले फागुन ७ गते, म अगाडि बढें, साथ दिनुहोस् भनिसकेपछि उहाँले नै तोकेका कमाण्डरको नेतृत्वमा यी सबै कुरा भएका छन् । उहाँ जवाफदेही हुनुपर्छ नि त । तर, उहाँ जवाफदेही हुन पन्छिनु भयो’, ज्ञवालीले भने । एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो शुभकामना सन्देशप्रति आपत्ति जनाएको छ । पूर्वराजाको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने आशा अझै जीवितै रहेको निष्कर्ष समेत निकालेको छ ।

उपमहासचिव ज्ञवालीले चैत १५ गतेको आपराधिक घटनालाई ‘जनतामा आएको जागरणको रुपमा व्यक्त गर्न खोजिएको भन्दै’, आपत्ति जनाए । उनले भने, ‘हिजो मात्रै सन्देश बाहिर आएको छ, त्यो अभिव्यक्ति हेर्दा उहाँको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धीहरुलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र सक्रियता जीवितै रहेको पायौं । त्यो गलत कुरा हो । चैत १५ गते अपराधिक घटनालाई जनतामा आएको जागरणको रुपमा व्यक्त गर्नुभयो । सर्वसाधारणको घरमा लुटपाट, तोडफोड र विध्वंस नै उहाँले खोजेको जागरण हो भने त्यो धेरै आपत्तिजनक हो ।’

चैत १५ गते भएको तीनकुनेको हिंसात्मक प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले प्रदर्शनका कमाण्डर तोकिएका दुर्गा प्रसाईंसहितलाई पक्राउ गररेर अनुसन्धान गरिरहेको छ ।