Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

कुनै पनि दलको बहुमत आउन गाह्रो छः देउवा

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको संविधान सबैलाई मिलाउन सक्ने खालको भएको बताएका छन् । समावेशी र समानुपातिक आधारमा देश अघि बढिरहेको बताउँदै उनले संविधानले महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।

आइतबार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि दलको बहुमत आउन गाह्रो भएको भए पनि सबैलाई मिलाएर अघि बढ्ने संविधान भएको बताए। ‘हाम्रो देश समावेशी र समानुपातिकताको आधारमा अघि बढिरहेको छ । यसमा मुस्लिम समुदायको पनि प्रतिनिधित्व छ,’ पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने, ‘नेपालको संविधान अत्यन्तै राम्रो छ । कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । तर, पनि सबैलाई मिलाउन सक्ने संविधान छ ।’

सभापति देउवाले मुलुकमा सामाजिक सद्भाव कायम मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना गरेका छन् । ‘मुस्लिम समुदायमा धेरै सहयोगी दाजुभाई दिदीबहिनी हुनुहुन्छ, मुलुककले अङ्गीकार गरेको समावेशी, समानुपातिक शासन व्यवस्थाले सबै जात र समुदायलाई समेटेको र यसलाई अझ समावेशी बनाउन पार्टी सचेत रहेको छ’, उनले भने।

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्वेले धार्मिक स्वतन्त्रता र सहिष्णुतालाई स्वीकार गर्दै लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्ने नेपाली कांग्रेसले सबैको आस्था, विचार र मुल्य मान्यतालाई स्वीकार गरेर हार्दिककता प्रदर्शन गरिरेहको बताए । केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम समुदायले लोकतान्त्रिक व्यवस्था र देशको विकासमा पु¥याएको योगदान बिर्सन नसकिने बताए । अर्का केन्द्रीय सदस्य अब्दुल सतारले नववर्ष २०८२ को शुभकामना व्यक्त गर्दै सबै जातजाति, समुदायबीचको एकताबाटै देशको विकास गर्न सकिने बताए ।

त्यस अवसरमा नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ, नेपाल मुस्लिम संघका केन्द्रीय अध्यक्ष अताबुल मन्सुर र मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमद्दिन अलीले धार्मिक एकता, सद्भाव र सहिष्णुता नेपालीको पहिचान भएको बताए ।