Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सरकार ढल्छ र खाउँला भनेर पासो थापेर बसेका छन्ः मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक भनिएका गणतन्त्रवादी केही दलहरू सत्ताबाट बाहिरिने बित्तिकै राजतन्त्रवादीहरूसँग समेत मिलेर धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाएका छन् ।

झापाको दमकमा आज (शनिबार) आयोजित नेकपा एमालेको जागरणसभालाई सम्बोधन गर्दै कार्कीले सरकारबाट बाहिरिने बित्तिकै बाहिर सरकार जान्न भन्ने तर भित्र–भित्रै धमिलो पानीमा खेल्ने काम गरेको दाबी गरे । ‘उनीहरू अहिले सरकार ढल्छ र खाउँला भनेर पासो थापेर बसेका छन्’, उनले भने, ‘जतिसुकै शक्तिकेन्द्र धाए पनि यो सरकार अहिले ढल्दैन, २०८४ सालसम्म यही सरकार टिकिराख्छ । यो एमाले र काँग्रेसका बिचमा भएको सहमति हो ।’

जन निर्वाचित संविधानसभाको माध्यमाबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्रणाली स्थापितभएको भन्दै उनले भने, ‘शान्तिपूर्ण गतिविधिमा कुनै आपत्ति छैन् । राजा ल्याउने नाममा तोडफोड गर्ने, व्यक्ति हत्या गर्ने, अवाञ्छित गतिविधि गर्नेहरू सक्रिय भएका छन् ।’

केही शक्ति र व्यक्तिहरू आफ्नो जनधार बढाउने नाममा विकास निर्माण भएको ढिलासुस्तीलाई लिएर अहिले राजाको नारा लगाइरहेको बताए । कुतसित मनसाय बोकेको राजतन्त्र फर्काउने खालका गतिविधि रोक्नकालागि जागरणसभा गरिएको उनले बताए ।