काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)नौ दिनपछि बिहीबार कार्यालय पुगे। तर, उनी धेरैबेर बसेनन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यालयमा हाजिर हुनुअघिदेखि नै बालेन बिदामा बसेका थिए । महानगर स्रोतका अनुसार बालेन गत साताको मंगलबारदेखि महानगर गएका थिएनन् ।
मेयर बालने नभएको समयमा गत हप्ताको बिहीबार गुरागाईँ कार्यालयमा हाजिर भएका थिए । त्यस दिन महानगरपालिका परिसर दिनभर तनावग्रस्त रह्यो । महानगरको निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई १०३ दिनपछि कार्यालय पुगेका थिए । उनलाई नगरप्रहरीले रोक्ने प्रयास गरेपछि तनावको स्थिति सिर्जना भयो ।
नगरप्रहरीको अवरोधकाबीच गुरागाईँलाई उपप्रमुख सुनिता डंगोल, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृतको ढोका फोडेरै कार्यकक्षमा छिराएका थिए । त्यसक्रममा नगरप्रहरी र वडाध्यक्ष तथा कर्मचारीबीच घम्साघम्सी भयो । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको सिसाको ढोका फुट्यो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई महानगरपालिकामै हाजिर गर्ने वातावरण मिलाउन भनेर एक महिनाअघि महानगरलाई पत्र पठाएको थियो । तर, मन्त्रालयको निर्णयबाट महानगरका मेयर बालेन शाह असन्तुष्ट थिए । सोही कारण उनकै निर्देशनका नगरप्रहरीले बिहीबार गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गर्यो । बालेनले नगर प्रहरी लगाएर रोक्ने मात्र होइन, कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए ।
गेटमा नगरप्रहरी खटाएपछि आक्रोशित बनेका कर्मचारी र वडाध्यक्षहरूले मेयरविरुद्ध नाराबाजी गरेका थिए । त्यतिबेला बालेन दोलखाको भीमसेन पुगेका थिए । नौ दिनपछि कार्यालय पुगेका बालनेविरुद्ध काठमाडौँ महानगरपालिकाका कर्मचारीहरू उत्रिएका छन् । प्रमुख प्रशासकीय अधिकृतलाई रोकेको विषयमा महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे र बालेनका प्रमुख स्वकीय सचिवमाथि छानबिन गर्न कर्मचारीहरूले माग गरेका छन् ।
बिहीबार प्रमुख प्रशासकीय अधिकृतलाई विभिन्न कर्मचारी संगठनले ज्ञापनपत्र बुझाउँदै प्रहरी बलका प्रमुख पाण्डेमाथि छानबिन गर्न तीनदिनभित्र छानबिन समिति बनाउन माग गरेका छन् । उनीहरूले भनेका छन्– ‘चैत्र २१ गते महानगर प्रहरी बलका प्रमुखको अगुवाइमा भएको कार्यालयको मर्यादा विपरीतका अनुशासनहीन गैरकानूनी, अमर्यादित एवं अनपेक्षित घटनाका बारेमा सत्यतथ्य पत्ता लगाइ दोषीलाई हदैसम्मको कारबाही गर्न तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गरी जिम्मेवारी दिइयोस्।’
यस्तै, बालनेका प्रमुख स्वकीय सचिव भूपदेव शाहलाई कारबाही गर्न कर्मचारीहरूले माग गरेका छन् । ‘२१ गतेको घटना पछि प्रमुखको स्वकीय सचिवको नाममा सचिवालयका कर्मचारीले आचरण विपरीत अनाधिकृत ढङ्गले सार्वजनिक सञ्चारमाध्यममार्फत उपप्रमुखज्यु, वडाध्यक्षज्युलगायतका सम्मानित व्यक्तिहरुसमेतलाई लाञ्छित गर्ने प्रयास गर्दै कर्मचारीको आचरण उल्लङ्घन गरेको हुँदा निजलाई कानूनबमोजिम हदैसम्मको कारबाही गरियोस्,’ ज्ञापन पत्रमा भनिएको छ।