Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

वसन्त ऋतुमा हिमाल आरोहणको लागि कतिले लिए अनुमति?

वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ४१ आरोही समूहका ३८१ जनाले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार बुधबारसम्म सगरमाथा, आमादब्लम, अन्नपूर्ण–१, मकालुलगायत हिमाल र पिक आरोहणका लागि ८४ महिला र २९७ पुरुषसहित कूल २३१ जनाले अनुमति पाएका हुन्। विभागकी निर्देशक आरती न्यौपानेका अनुसार सगरमाथा आरोहणका लागि १४ आरोही समूहका २७ महिला र १०७ पुरुषसहित जम्मा १३४ जनाले अनुमति पाएका छन् ।

नेपालसहित ७५ देशका नागरिकले हिमाल आरोहण अनुमति लिएका छन्। जसमध्ये ३० देशका २७ महिला र १०७ पुरुषसहित कूल १३४ जनाले सगरमाथा आरोहण गर्न अनुमति लिएका हुन्। अन्नपूर्ण–१ मा ६ आरोही समूहका ६६, आमादब्लाममा ४ समूहका ४८ र मकालुमा ३ समूहका ४० जनाले विभागबाट आरोहण अनुमति लिएका छन्।

 हालसम्म हिमाल आरोहणबाट २४ करोड ५२ लाख ७७ हजार ५३७ रुपैयाँ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ।