Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सरकारले शिक्षकहरूको माग पूरा नगरे अझ ठूलो आन्दोलन उठ्छः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले शिक्षकहरूको माग अविलम्ब पूरा गर्नुपर्ने बताएका छन्। आज बुधबार विज्ञप्ति जारी गर्दै खनालले माग पूरा नगरे अझ ठूलो आन्दोलन उठ्ने चेतावनी पनि दिएका छन्।

‘आन्दोलनरत शिक्षकहरूका मागहरूलाई अविलम्ब सम्बोधन गर्न, शिक्षा ऐन ल्याउने कुराको ग्यारेन्टी गर्न, शैक्षिक क्षेत्रका सम्पूर्ण समस्याहरू समाधान गर्न र शिक्षकहरूलाई अविलम्ब आ–आफ्ना विद्यालयमा फर्केर नियमित पठनपाठनमा संलग्न हुने सहज वातावरण तयार पार्न वर्तमान सरकारसँग जोडदार माग गर्दछु। साथै सरकारले आदरणीय शिक्षकहरूका मागहरू सम्बोधन नगरेको खण्डमा सरकारका विरुद्ध अझ फराकिलो दायराबाट जनआन्दोलन उठ्ने कुराको चेतावनी दिन चाहन्छु,’ उनले भनेका छन्।

सरकारले शिक्षकहरूको मागलाई नसुनेको–नसुन्यै गरिरहेको उल्लेख गर्दै खनालले उनीहरूका जायज आन्दोलनप्रति बेवास्ता गर्न नहुने बताएका छन्। ‘यस्तो अवस्थामा सम्पूर्ण न्यायप्रेमी नेपालीहरू र सच्चा क्रान्तिकारी, वामपन्थी र देशभक्त जनता र शक्तिहरूको तर्फबाट म शिक्षकहरूको यो जायज र न्यायपूर्ण आन्दोलनप्रति दृढ समर्थन गर्दछु र उनीहरूको यो आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछु,’ उनले भनेका छन्।

विभिन्न माग राखी गत चैत २० गतेयता शिक्षकहरू आन्दोलित छन्। उनीहरूलाई शिक्षा मन्त्रालयले वार्ताका लागि बोलाएको छ।