राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजादेखि गणतन्त्रवादीसम्म अटाउने नवीन समझदारी गर्नुपर्ने बताएका छन् । काठमाडौंको बल्खुमा आज मंगलबार आयोजित खबरदारी सभामा लिङ्देनले यही अवस्थाबाट देश अगाडि बढ्न नसक्ने बताउँदै यस्तो प्रस्ताव गरेका हुन् ।
‘देश यही अवस्थाबाट अगाडि बढ्न सक्दैन । तर, यही अवस्थामा पनि रहन सक्दैन । देशलाई नयाँ समझदारी आवश्यक छ । शान्तिपूर्ण ढंगले सबै राजनीतिक शक्तिबीच नवीन समझदारी गरौं । हिजोका र अहिलेका राम्रा विषयलाई अनुशरण गरौं,’ लिङ्देनले भने, ‘राजादेखि गणतन्त्रवादी अटाउने व्यवस्था गरौं । जनता सार्वभौमसत्ताको मालिक हुने गरी राजा देशको अभिभावक हुनेछन् । कार्यकारी प्रधानमन्त्री, प्रदेश नभएको हिन्दू राज्य र बलियो स्थानीय तह बनाएर जाऊँ ।’
उनले शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क गर्नुपर्ने पनि बताए। ५-१० वर्षमा देश बन्ने विधि स्थापित गरेर जानुपर्ने उनको भनाइ थियो । लिङ्देनले चैत १५ गते काठमाडौंमा सरकारले हिंसा मच्चाएको आरोप समेत लगाए ।
‘अहिलेका प्रहरी प्रमुख एमालेको युवा संघको सहअध्यक्ष रहेछन्’
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका प्रहरी प्रमुख नेकपा (एमाले) को युवा संघको सहअध्यक्ष रहेको दाबी गरेका छन् ।
गत चैत १५ गतेको तीनकुने आन्दोलनको प्रसङ्ग कोट्याउँदै उनले भने, ‘गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ, ल हेर्नुस् त। ए हामीले भेटेका अश्रुयग्यासका खोस्टाहरू दुर्गा प्रसाईले हानेका हुन्। त्यो प्रहरी प्रमुख हामीले हानेको अश्रुग्यास कसरी डेट–एक्पाइरी हुन सक्छ भन्छ लाजै बिना,’ उनले भने।
अध्यक्ष लिङ्देनले प्रहरी प्रहरी भएर बस्नुपर्ने बताए। ‘प्रहरी राजनीतिक दलको भातृसङ्गठन बस्ने होइन, प्रहरी प्रहरी भएर बसोस्,’ उनले भने । अहिलेका प्रहरी प्रमुख (आईजीपी) दीपक थापा हुन्। अध्यक्ष लिङ्देनले उनैलाई युवा संघका सहअध्यक्ष भनेका हुन् ।