Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

जडिबुटीमा आगो लगाउने माओवादी हुन्, प्रचण्डको सम्पतिबाट क्षति असुल्नुपर्छः ज्ञानेन्द्र शाही

‘झुटा मुद्दा लगाए जनताले तिमीहरुका घर घेर्छन्’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले जडिबुटी प्रशोधन केन्द्रमा माओवादी केन्द्रका कार्यकर्ताहरूले आगो लगाएको आरोप लगाएका छन्। आज (मंगलबार) राप्रपाले बल्खुमा गरेको आमसभामा बोल्दै शाहीले भने, ‘राजावादीले हिंसा गरे रे, अहिले प्रमाणित भयो–जडिबुटीमा आगो लगाउने माओवादीको कार्यकर्ता भएको आज पुष्टि भएको छ ।’

शाहीले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई झुठा मुद्दा लगाएर थुनिएको बताउँदै तत्काल छाड्नु पर्ने बताए । उनले भने, ‘सरकारलाई अपिल गर्न चाहन्छु, झुठा मुद्दा लगाएर थुन्ने कोशिस नगरियोस्, झुठा मुद्दा तत्काल फिर्ता गरियोस् ।’ उनले आफ्नो पार्टीका नेताहरूलाई झूटा मुद्दा लगाएर थुन्ने कोशिस गरिए लाखौं जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी दिए ।

‘यो १६ वर्षमा यिनीहरूले १४ वटा सरकार फेरे । एक हजार मन्त्री भए, करिब ३ हजार सांसद भए, ३१ मुख्यमन्त्री र गाउँगाउँमा लुटेराहरूले देश लुटे’, उनले प्रश्न गर्दै भने ‘२५ वटा अस्पताल राजाले बनाए । यिनीहरूले के बनाए ? यसकैविरुद्ध हामीले आन्दोलन गरेका हौं ।’ शाहीले गणतन्त्र आएपछि देशमा आर्थिक प्रगति भएको भनेर कांग्रेस एमाले र माओवादीलगायत गणतन्त्रवादी नेताहरूले बताउने गरे पनि भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देश बर्बाद पारिरहेको आरोप लगाए ।

शाहीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिका ठाउँमा राजा राख्दैनन् भने कर नतिर्न र रेमिट्यान्स नपठाउन तयार रहन उनले समर्थकहरूलाई आग्रह समेत गरे ।